इन्सेक, बाजुरा प्रतिनिधि पदमबहादुर सिहका अनुसार बुढीनन्दा नगरपालिका–८ को पीसक्रेटर जोन एकेडेमी मतदानस्थलमा स्थगित भएको मतदान कार्य नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र भित्री घेरामा म्यादी प्रहरीको कडा सुरक्षाकाबिच जेठ ३ गते सम्पन्न भएको छ ।
वैशाख ३० गते मतदानस्थलमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबिच झडप भएपछि मतदान कार्य स्थगित भएको थियो ।
जेठ ३ गते विहान ७ बजेदेखि सुरु गरिएको मतदान कार्य साँझ ५ बजेसम्म सञ्चालन गरिएको र कुल ८ सय ६४ मतदाता मध्ये ३ सय ७३ जना महिला र ३ सय ६३ जना पुरुप गरी ७ सय ३६ जनाले मतदान गरेका जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराव अवस्थीले बताउनु भयो ।
मतदान केन्द्रमा शान्ति सुरुक्षाको सुनिश्चितता गरी मतदाताहरुलाई भयरहित वातावरणमा मतदान कार्य सुचारु राख्नका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादिप्रहरी गरी २ सय सुरक्षाकर्मी परिचालन गरी कडा सुरक्षा व्यवस्था मिलाइ शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चतुरभुज ओझाले बताउनु भयो ।
मतदान सकिए लगत्तै मतपेटिकाहरु मतगणनास्थलमा पुगाए लगत्तै मतगणना कर्य सुरु गरिने डिएसपी ओझाको भनाइ रहेको छ ।
इन्सेक, कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार पुर्नवास नगरपालिका–१० स्थित विजय माध्यमिक विद्यालयमा स्थगित भएको निर्वाचन जेठ ३ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
वैशाख ३० गते सञ्चालन भइरहेको मतदानका क्रममा नेकपा माओवादी केन्द्रका नेताहरुले फर्जि मतदातालाई मतदान गर्न लगाएपछि मतदान स्थलमा विवाद भई मतदान स्थगित गरिएको थियो ।

पुर्नवास नगरपालिका–१० स्थित मतदानस्थलमा ३ हजार १५ मतदाता रहेकोमा २ हजार २ सय ३८ जनाले मतदान गरेको निर्वाचन अधिकृत किरण जोशीले बताउनु भयो ।
निर्वाचन अधिकृत जोशीका अनुसार जेठ ३ गते सञ्चालन गरिएको निर्वाचनमा १ हजार ७ सय ६४ पुरुष र ४ सय ७४ जना महिला मतदाताहरुले मतदान गरेका छन् ।
३ वटा मतदान केन्द्र रहेको वडा नम्बर १० मा मतदान केन्द्र ‘क’ मा ९ सय ८०, ‘ख’ मा १ हजार ८ र ‘ग’ मा १ हजार २७ जनाले मतदान गरेका छन् ।

मतदानस्थलको सुरक्षाका लागि ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादिप्रहरीलाई परिचालन गरी मतदान कार्य सम्पन्न भएको र सर्वदलिय बैठकको आयोजना गरी राति नै मतगणना सुरु गरिने मतदान अधिकृत जोशीको भनाइ छ ।
यसैगरी वैशाख ३० गते राजनीतिक दलका कार्यकर्ताहरुबिच झडप भएपछि स्थगित गरिएको अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ मा जेठ ३ गते पुनः मतदान कार्य सम्पन्न भएको छ । विनायक नगरपालिका–५ स्थित नवज्योती माविमा रहेको मतदानस्थलको ‘क’ मतदान केन्द्रमा ५ सय ४९ र ‘ख’ मतदान केन्द्रमा ५ सय ६२ गरी जम्मा १ हजार १ सय ११ जनाले मतदान गरेका छन् ।
