विभिन्न कारणले स्थगित भएका १९ ओटा मतदान केन्द्रमा पुनः निर्वाचनको मिति तय भएको छ ।
निर्वाचन आयोगका अनुसार शुक्रबार नै स्थगित भएका पाँच ओटा प्रदेशका ६ जिल्लाका १९ मतदान केन्द्रको पुनः निर्वाचनका लागि मिति तय भएको हो ।
ति मतदान केन्द्रमा विवाद सृजना भएपछि सम्बन्धित निर्वाचन अधिकृतले पुनः निर्वाचनका लागि मिति तोकेर सूचना प्रकाशित गरेका आयोगले जनाएको हो ।
जसमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाका तीन स्थानीय तहका चार ओटा मतदान केन्द्र रहेका छन् भने दोस्रोमा कर्णाली प्रदेशको कालिकोट जिल्लाका दुई स्थानीय तह र बागमती प्रदेशका दुई जिल्लाका दुई स्थानीय तह रहेका छन् ।
त्यस्तै प्रदेश १ को धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्र र मधेस प्रदेशको सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकाको जनता माध्यामिक विद्यालयको मतदान स्थलका मतदान केन्द्र रहेका छन् ।
यि १० ओटै मतदान केन्द्रमा जेठ १ गतेदेखि जेठ ३ गतेसम्म निर्वाचनको मिति तोकिएको हो ।
