त्रिपुरासुन्दरी गाउँपालिका–१ डाडाँगाउँमा एमालेको घरदैलो कार्यक्रममा ०७९ वैशाख २७ गते साँझ नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गर्दा तीन जना नेकपा एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् ।
कांग्रेस कार्यकर्ताको आक्रमणबाट त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका २५ वर्षीय हरि श्रेष्ठ, २६ वर्षीय रामशरण श्रेष्ठ र ३५ वर्षीय लेकबहादुर विक गम्भीर घाइते हुनुभएको छ ।
घाइतेहरूको स्वास्थ्य अवस्था गम्भीर भएकोले सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित मनमोहन अस्पतालमा स्वयंभुमा भर्ना गरिएको छ ।
सो घटनामा सामान्य घाइते भएका १० जना भन्दा बढी नेकपा एमालेका कार्यकर्ताको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको नेकपा एमाले त्रिपुरासुन्दरी गाउँपालिकाका पार्टी अध्यक्ष हरि पन्तले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
त्रिपुरासुन्दरी गाउँपालिका–१ का नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका साधुराम भनिने भीमप्रसाद भट्टले एमाले जुलुसमा खुँडा ल्याएर प्रहार गरेपछि आक्रमण भएको थियो ।
आक्रमणमा जिल्ला अदालत धादिङले ज्यान मार्ने उद्योगको कसुरमा सजाय तोकिएका फरार कसुरदार रहेका त्रिपुरासुन्दरी गाउँपालिका–१ का दीपक उप्रेती र श्रीकृष्ण खड्का समेत सहभागी भएको प्रत्यक्षदर्शी पन्तले बताउनुभयो ।
एमालेको घरदैलो कार्यक्रममा आक्रमण भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको जनपथ प्रहरी र सशस्त्र प्रहरीले घटनालाई नियन्त्रणमा लिएको थियो ।
कांग्रेस कार्यकर्ताले प्रहरीले प्रयोग गरेको सवारी साधनमा समेत आक्रमण गरेका थिए ।
वडा अध्यक्ष उम्मेदवार भट्टको घर नजिकै जम्मा भएर बसेका कांग्रेस कार्यकर्ताहरूले एमालेको घरदैलो कार्यक्रममा आक्रमण गरेको प्रत्यक्षदर्शी एमाले गाउँपालिका उपाध्यक्ष उम्मेदवार संगिता कुमालले बताउनुभयो ।

यसैगरी त्रिपुरासुन्दरी गाउँपालिका –७ खहरेमा पनि नेकपा एमाले कार्यकर्तामाथि आक्रमण भएको छ । सडकमा हिँडेका एमाले कार्यकर्ता शिशिर दनै, नेकपा एमाले त्रिपुरा सुन्दरी गाउपालिका ७ का रामबहादुर खड्का घाइतेहुनुभएको छ ।
घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकी काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले घटना नियन्त्रणमा लिएको जनाएको छ ।
शान्तिपूर्ण जुलुसमा एक्कासी आक्रमण गर्ने विरुद्ध इलाका प्रहरी कार्यालय सल्यानटारमा उजुरी गरिने उपाध्यक्ष उम्मेदवार कुमालले बताउनुभयो ।
प्रहरीले कसैलाई पनि गिरफ्तार गरेको छैन ।
घटना नियन्त्रणमा लिएर दलहरूबीच समन्वय र शान्ति कायम गर्ने सर्वदलिय सहमति भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी राकेश सिंहले स्थानीय स्तरमा शान्ति कायम गर्ने, सुरक्षा दिइएको बताउनुभयो ।
यसैबीच घटनामा संलग्नहरूलाई कारबाही गर्न र घाइतेहरूको उपचारको माग गर्दै नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले वैशाख २८ गते एक विज्ञप्ति प्रकाशन गर्नु भएकव छ ।