प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाशन/प्रशारण गर्ने १ सय ३९ ओटा सञ्चारमाध्यमलाई कारबाही गरेको छ ।
काउन्सिलका सूचना अधिकारी रामशरण बोहोराद्वारा ०७९ वैशाख २७ गते जारी विज्ञप्तिमा ०७८ चैत २६ गतेदेखि वैशाख २७ गतेको अवधिमा १ सय ३९ सञ्चारमाध्यमबाट १ सय ५० ओटा निर्वाचन आचारसंहिता प्रतिकूलका समाचार प्रकाशन÷प्रसारण भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा उल्लेख भए अनुसार आचारसंहिता विपरीत समाचार प्रकाशन गर्ने ४४ ओटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन् नसक्ने गरी कारबाही गरेको छ ।
काउन्सिलले सोही अवधिमा ८१ ओटा सञ्चारमाध्यमलाई आचारसंहिता पालना गर्न सजग रहन निर्देशन दिएको छ भने १७ ओटा सञ्चारमाध्यमलाई सचेत गराएको छ ।
त्यस्तै सोही अवधिमा निर्वाचन आयोगको अनुरोधमा काउन्सिलले पत्रकारको सामाजिक सञ्जालको प्रवृतिगत अध्ययन गर्ने क्रममा फेसबुकबाट कुनै दल विशेष वा उम्मेदवारको पक्षमा प्रचारप्रसार वा मत माग्ने २९ जना पत्रकारलाई ध्यानाकर्षण समेत गराएको छ ।

