स्थानीय तह सदस्य निर्वाचन ०७९ का लागि वैशाख २७ गते मध्य रातिदेखि मौन अवधि सुरू भएको छ ।
मौन अवधिमा निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गर्न नहुने, मतदाता प्रभावित पार्ने कार्य भोजभतेर, आर्थिक प्रलोभन, धाकधम्की, बन्देजजस्ता कार्य वर्जित गरिएको छ ।
निर्वाचन आचारसंहिता विपरित नेपाल सरकारका मन्त्रीहरू चुनावी प्रचारप्रसारमा सहभागी भएको पाइएको छ ।
मौन अवधिमा चुनावी प्रचारप्रसार र मतदातालाई आफ्नो पक्षमा आफ्नो पक्षमा पार्ने गरी भोट माग्न वर्जित भएपनि नेपाली कांग्रेसका नेता तथा परराष्ट्र मन्त्री नारायण खड्का र प्रदेशका भौतिक विकास तथा पूर्वाधार मन्त्री हिमाल कार्की निर्वाचन आचारसंहिता विपरित त्रियुगा नगरपालिका–६ मा कार्यकर्ता भेटघाट कार्यक्रम वैशाख २८ गते गर्नु भएको छ ।
त्रियुगा नगरपालिका–६ जलजलेको मुसहर बस्तीमा पुगेर त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिनु भएका वसन्त बस्नेत र त्रियुगा नगरपालिका– ६ का वडाध्यक्ष पदका उम्मेदवार कृष्ण बुढाथोकीलाई साथमा लिएर भोट मागेको पाइएको छ ।
त्रियुगा नगरपालिका–१० स्थित डिएमगेटका कुखुरा र रौतामाइ गाउँपालिका–७ मुर्कुचीमा कपडा बाँड्न लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
मौन अवधिमा आचारसंहिता विपरित कुखुरा र कपडा बाँडेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको मुख्य निर्वाचन अधिकृत दीपक खनालले इन्सेक प्रतिनिधिलाई बताउनु भएको छ ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार मौन अवधि सुरू भएको अवस्थामा विराटनगरबाट प्रकाशित हाम्रोमत दैनिक र सुनसरीको धरानबाट प्रकाशित हुने ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकले निर्वाचन आचारसंहिता २०७८ को दफा २२ प्रतिकूल हुने गरी पार्टी वा उम्मेदवारका पक्षमा समाचार प्रकाशन गरेका छन् । दफा २२ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नु पर्ने आचरण विपरित समाचार प्रकाशन गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । दफा २२ को झ मा मौन अवधिमा अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, प्रचारप्रसारका सामग्री पोष्ट, वा सेयर गर्न, कमेण्ट प्रतिकमेण्ट गर्न, दल वा उम्मेदवारको समाचार प्रकाशन गर्न नहुने व्यवस्था गरेको छ ।


