INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपा माओवादीद्वारा एमालेका कार्यकर्तालाई ढुङ्गा प्रहार गरेको आरोप

नेकपा माओवादी केन्द्रका कार्यकर्ताद्वारा नेकपा एमालेका कार्यकर्ता माथि ढुङ्गा प्रहार गरेको नेकपा एमाले पार्टीका कार्यकर्ताले आरोप लगाएका छन् ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवम् हुम्ला जिल्ला सह इन्चार्ज दल रावल, एमालेको तर्फबाट ताँजाकोट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार अजमल बुढा र पूर्णप्रसाद ढकाल लगायतका व्यक्तिहरूलाई ढुङ्गा प्रहार भएको एमालेले आरोप लगाएको हो ।

उम्मेदवार आफ्नो घरमा बसिरहेको अवस्थामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले वैशाख २६ गते रातिको समयमा ढुङ्गा प्रहारगर्दा एमालेका कार्यकर्ता सामान्य घाइते भएको घटनास्थलबाट पत्रकार जयपति ढकालले बताउनु भयो ।

सामान्य घाइते हुनेमा ताँजाकोट गाउँपालिका–२ मैलाका ४२ वर्षीय पूर्णप्रसाद ढकाल, सोही ठाउँका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार ४४ वर्षीय अजमल बुढा लगायतका कार्यकर्ता घाइते भएको अजमल बुढाले बताउनु भयो ।

उहाँका अनुसार “नेकपा एमाले मुर्दावाद भन्ने नारा लगाउँदै पहिले टाढैबाट ढुङ्गा प्रहार गरे त्यसपछि आफ्नै घरमा आएर कुटपिट र घरको छत फोडे ।” कुटपिट भएपछि वैशाख २७ गते आफूले मैला प्रहरी चौकी र ताँजाकोट गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको उम्मेदवार बुढाले बताउनु भयो ।

सोही घटनालाई साम्य बनाउन वैशाख २७ गते इन्स्पेक्टर दिपक मल्लको नेतृत्वमा दश जना प्रहरीको टोली घटनास्थलतर्फ खटेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णराज ओझाले बताउनु भयो ।

घटनामा संलग्न दुवै पक्षाका नेता तथा कार्यकर्ताहरूलाई बसालेर छलफल गरीरहेको ताँजाकोट गाउँपालिकाबाट इन्स्पेक्टर मल्लले जानकारी दिनुभयो । घटना सामान्य रहेको इन्स्पेक्टर मल्लको भनाई छ ।

अन्य

भिडियो