भौगोलिक आधारमा सदरमुकामबाट टाढा रहेका हिमाली जिल्लामा निर्वाचन आयोगले हेलिकप्टरको व्यवस्था नगर्दा कर्मचारीलाई मतदान केन्द्रसम्म पुग्न जोखिम मोल्नु परेको छ ।
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सदरमुकाम सिमकोट भन्दा करीव पाँचदिन पैदल लाग्ने मत केन्द्रमा जानका लागि निर्वाचन आयोगले हेलिकप्टरको व्यवस्था नगर्दा मतदान केन्द्रमा खटिने कर्मचारीले ज्यान जोखिम मोलेर मतदान केन्द्रमा पुग्नुपर्ने बाध्यता भएको नाम्खा गाउँपालिका–६ हिमशिखर प्रावि तिल मतदान केन्द्रका मतदान अधिकृत विषन रोकायाले गुनासो गर्नु भयो ।
नाम्खा गाउँपालिका–६ मा रहेका तीनवटा मतदान केन्द्रहरूमा निर्वाचन सम्पन्न गर्नका लागि हिडेका मतदान अधिकृत सहितको टोलीलाई ४ हजार ८ सय फिट अग्लो रहेको नारा लेकमा समस्या परेपछि वैशाख २६ गते हिल्सामा रहेको सशस्त्र प्रहरी बलले उद्धार गरेको सशस्त्र प्रहरी बलका डीएसपी गेहेन्द्र बहादुर भण्डारीले बताउनु भयो ।
सदरमुकाम सिमकोटदेखि वैशाख २३ गते हिडेका कर्मचारीलाई नारा लेकमा हिउँले समस्या गरेपछि सात जना सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको डीएसपी भण्डारीले बताउनु भयो । उहाँका अनुसार नारा लेकमा जमेको तीन फिट हिउ पार गर्न सशस्त्र प्रहरी बलले हिउँमा हिंड्दा प्रयोग गरिने स्रोत साधन ल्याएर नारा लेक कटाएका हुन् । लिमीमा तीन वटै मतदान केन्द्रका लागि कर्मचारी र सुरक्षाकर्मी गरी ४५ जना खटिएका छन् ।
तर यस अघिका निर्वाचनमा निर्वाचन आयोगले लिमिका तीनवटा मत केन्द्रमा हेलिकप्टरको व्यवस्था गरेको भए पनि यस पटक भने सोको व्यवस्था नभएको निर्वाचन कार्यालयका प्रमुख मुक्ति नन्द रावलले बताउनु भयो ।
