नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट नेपाली काङ्ग्रेसका चार जना कार्यकर्ता घाइते भएका छन् भने माओवादीका कार्यकर्ताले नेपाली काङ्ग्रेसका कार्यकर्ताले चुनाव प्रचारमा प्रयोग गर्ने दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
बाँफीकोट गाउँपालिका–३ दहमा ०७९ वैशाख २६ गते राति नेकपा माओवादी केन्द्रका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको थियो ।
माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा घाइते हुनेमा नेपाली काँग्रेसका वडा सभापति सूर्यप्रकाश मल्ल, वडा सदस्य मित्रलाल ओली, राजेश केसी र हुपजङ्ग बोहरा रहेका छन् । रातिको समयमा घरमा बसिरहेको अवस्थामा माओवादीका कार्यकर्ताले बिनाकारण आक्रमण गरी घाइते बनाएको नेपाली काँग्रेसका जिल्ला उप–सभापति हर्कसिंह खत्रीले आरोप लगाउनु भयो ।
बाँफीकोटमा आक्रमण भएपछि त्यस क्षेत्रमा थप प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डीएसपी विष्णु सोतीले जानकारी दिनुभयो । झडपका क्रममा माओवादीका कार्यकर्ताले दुइवटा मोटरसाईकल पनि जलाईदिएको डीएसपी सोतीले बताउनुभयो । उहाँका अनुसार आक्रमणबाट घाइते भएकाहरूको टाउको र घाँटीमा चोट लागेको छ । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
जिल्लामा दिनहुँजसो नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका बीचमा झडप भएपछि काँग्रेस र माओवादी केन्द्रका जिल्ला नेताले वैशाख २६ गते बिहान सयुंक्त अपिल जारी गरी झडप नगर्न आग्रह गरेका थिए । संयुक्त अपिल जारी गरेकै दिन बाँफीकोटमा माओवादी केन्द्रका कार्यकर्ताले नेपाली काँग्रेसका कार्यकर्ता माथि आक्रमण गरेका हुन् ।
यसअघि वैशाख २५ गते एमाले पार्टीको गित बजाएर आफ्ना आफन्तसँग घरमै बसिरहेको अवस्थामा नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर बिकलाई माओवादीका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका थिए । घाइते चन्द्रबहादुरको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको नेकपा एमालेका नेता डण्डी कार्कीले जानकारी दिनुभयो ।