INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचार प्रसारमा भारतीय गाडीको प्रयोग

धनुषामा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटको सवारी साधनहरू उम्मेदवारहरुले चुनावी प्रचार प्रसारमा प्रयोग गरिरहेको देखिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न पदका उम्मेदवारहरूले प्रचार प्रसारको क्रममा भारतीय नम्बर प्लेटको गाडी तथा डिजे एवम् ठुलो स्वरमा आवाज निकाल्ने मेसिनको प्रयोग गरी ध्वनी प्रदुषण गरिँदै आएको छ । ध्वनी प्रदुषणले गर्दा निर्वाचन आचारसंहिताको उल्लंघनको साथै मतदाता आतङ्कित बनेका छन् ।

वैशाख २४ गते निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका लागि जसपाबाट मेयर पदका उम्मेदवार लालकिशोर साह, उपप्रमुखका उम्मेदवार किशोरी साह UP14 EX7032 भारतीय गाडीमा सवारमा दुबै हात जोडेर मत माग्दै हिँडेको देखियो ।

BR06PC0403 नम्बरको भारतीय गाडीमा जसपाका नेता कार्यकताहरु चुनावी प्रचार प्रसारमा देखियो । BR01PG7886 नम्बरको भारतीय गाडीमा नेकपा एमालेको चुनाव चिन्ह र झण्डासहित गाडीको प्रयोग गरेको पाइयो ।

वैशाख २४ गते BR30M 3976, BR32N5866 नम्बरसहित दर्जनौको संख्यामा भारतीय मोटरसाइकलमा पार्टीको झण्डा लिएर जनकपुरधामको परिक्रमा गर्दै चुनावी प्रचार प्रसार गर्ने गरेका छन् ।

उम्मेदवारहरुले भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गरेको विषयमा आफूहरू समक्ष जानकारी र गुनासो आएको बताउँदै यसबारे सम्बन्धित उम्मेदवारहरुलाई सचेत गराएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनु भयो ।

ठुलो स्वरमा डिजे तथा हर्नको प्रयोग गरी ध्वनि प्रदुषण गर्नेलाइ नगराउन आफुले पहलकमदी अगाडि बढाएको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीले भारतीय नम्बर प्लेटको सवारी साधन नियन्त्रणको काम सुरु गरेको बताउँदै अहिलेसम्म जनकपुरधामको कपिलेश्वर तथा देवपुरामा गरेर तीन ओटा सवारी साधनलाई नियन्त्रणमा लिएर चालकहरूलाई सम्झाई बुझाई छाडेको बताउनु भयो ।

अन्य

भिडियो