नेकपा एमालेबाट आठबीस नगरपालिका मेयर पदका उम्मेदवार तर्क बहादुर बडुवाल र उपमेयरका उम्मेदवार कल्पना थापाले चुनाव प्रचारमा प्रयोग गरेको गाडीमा अज्ञात समूहले वैशाख २६ गते बिहान आगजनी गरेको प्रहरीले जनाएको छ ।
कसले आगजनी गरेको भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नरेश बिकले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, दैलेखका इन्स्पेक्टर सुरज खड्काको नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको सूचना अधिकारी बिकले बताउनु भयो ।
आठबीस नपा–४ राकमकर्णालीको खोली बजारस्थित श्रृष्टि होटल अगाडी पार्क गरेर राखेको बा १९ च ५५७९ नम्बरको स्कारपियो जीपमा अज्ञात समूहले आगजनी गरेको हो ।
पार्किङ्ग गरेर राखिएको जीपमा रातिको करिब सवा ३ बजे दायाँपट्टिको पछिल्लो टायरमा आगजनी गर्न लागेको थाहा पाएर जीपमै सुतेका गाडी चालक दण्डबहादुर शाहीले ढोका खोलेपछि आगजनी गर्ने समूह भागेको चालक शाहीले बताउनु भयो ।
घटनाको प्रकृति हेर्दा प्रतिस्पर्धी दलहरूबाट नभई चुनाव बिथोल्ने समूहको संलग्नता हुने सक्ने उपमेयरका उम्मेदवार कल्पना थापाले बताउनुभयो । मेयर पदका उम्मेदवार तर्कबहादुर बडुवालले चालक गाडीमै भएको कारण ठूलो क्षति हुनबाट जोगिएको प्रतिक्रिया दिनुभयो ।
मेयर र उपमेयरका उम्मेदवारसँग चुनावी प्रचारमा जुटेको टोली गएराति आठबीस नपा–४ राकमबजारको श्रृष्टि होटलमा बास बसेको र गाडी सुरक्षाका निम्ति चालक गाडीमै सुतेको मौकामा यो घटना भएको हो ।

नेपाली सेनाको डिस्पोजल टोलीले सकेट बम निष्कृय बनायो
यसैबीच आठबीस नपा–६ रोल गाउँमा नेपाली सेनाको पहिले व्यारेक बसेको ठाउँमा भेटिएको एउटा सकेट बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको दैलेखका डीएसपी भुवनेश्वर साहले जानकारी दिनुभयो ।
२०६० देखि २०६७ सम्म बसेको नेपाली सेनाको टोलीले त्यसबेला पेरिफेरी सुरक्षाका लागि गाडेको बम सेनाले व्यारेक उठाएको १२ वर्षको अवधिमा यो सहित चार वटा बम फेला परेका छन् ।
मतदान हुने दिन नजिकै गर्दा आठबीस नगरपालिकामा उम्मेदवारको गाडीमा आगजनी र सकेट बम फेला परेको घटनाले स्थानीय र मतदानमा खटिने कर्मचारीहरू त्रसित भएका छन् ।
आठबीस नगरपालिका विप्लव नेतृत्वको नेकपा माओवादीको प्रभाव रहेको कालिकोटसँग सिमा जोडिएको कारण जिल्ला सुरक्षा समितिले सुरक्षाको उच्च जोखिम क्षेत्र घोषणा गरी सुरक्षा प्रभावकारी बनाइएको जनाएको छ ।
दैलेखका प्रमुख जिल्ल अधिकारी हरि प्याकुरेलले भन्नुभयो ‘एकआध घटनाले डराउनुपर्ने अवस्था छैन, सुरक्षा प्रवन्ध राम्रो गरिएको छ ।’ निर्भयपूर्वक मतदान गर्न तयार मानसिकता रहन आम मतदाताहरूलाई उहाँले आग्रह गर्नुभएको छ ।
कर्णाली प्रदेशकै सबै भन्दा धेरै पालिका भएको दैलेखका ११ पालिका, ९० वडामा १ सय ३६ मतदान स्थलमा २ सय ७ मतदान केन्द्र तोकिएको छ । निर्वाचन कार्यालयले मतदान अधिकृतहरूको तालिम सकेर कार्यस्थलमा मतदान टोली खटाउन थालेको छ ।