स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि सल्यानमा वैशाख २५ गते नमूना मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय, सल्यानले निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि नमूना मतदान कार्यक्रम गरेको जनाएको हो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि खटिने कर्मचारीको तालिमको सिलसिलामा नमूना मतदान गरिएको निर्वाचन कार्यालय, सल्यानले जनाएको छ ।
नमूना मतदानबाट मतदानमा खटिने मतदान अधिकृत तथा अन्य कर्मचारीहरू मतदानलाई सफल बनाउने प्रक्रियाका बारेमा जानकारी भएको जिल्ला निर्वाचन अधिकृत निमकान्त भटट्राईले जानकारी दिनुभयो ।
निर्वाचन सम्पन्न गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै भटट्राईले मतदाता परिचय पत्र, नागरिकता वा परिचय खुल्ने सरकारी कागज लिएर मतदान स्थलमा आउने मतदाता नामावलीमा नाम भएका मतदातालाई मतदान गर्न दिन आग्रह गर्नुभयो ।
त्रिभुवन जन उमावि लुहापिङ्गको प्राङ्गणमा नमूना मतदान केन्द्र बनाई मतदान गरिएको हो । प्रवेश गर्ने ठाउँमा र नमूना मतदान मतपेटिकाको सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी खटिएको थियो ।
सल्यानमा सुरक्षाकर्मी बाहेक १ हजार ५ जना कर्मचारी तथा ६ सय ३ जना स्वयंसेवक खटिने जिल्ला निर्वाचन कार्यालय, सल्यानले जनाएको छ । सल्यानमा आउनुपर्ने मतपत्र सबै आइसकेको र कर्मचारीको तालिम सकिएर सम्बन्धित मतदान केन्द्रमा कर्मचारी खटाउन थालिएको प्रमुख निर्वाचन अधिकृत भट्टराईले बताउनुभयो ।
