स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि धादिङमा वैशाख २४ गते नमूना मतदान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यलय धादिङले निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि नमूना मतदान कार्यक्रम गरेको हो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि खटिने कर्मचारीको तालिमको सिलसिलामा नमूना मतदान गरिएको निर्वाचन कार्यलय धाङिले जनाएको छ ।
नमूना मतदानबाट मतदानमा खटिने मतदान अधिकृत तथा अन्य कर्मचारीहरू मतदानलाई सफल बनाउने प्रक्रियाका बारेमा जानकारी भएको जिल्ला निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञावलीले बताउनुएको छ ।
निर्वाचन सम्पन्न गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै ज्ञावालीले मतदाता परिचयपत्र, नागरिकता वा परिचय खुल्ने सरकारी कागज लिएर मतदान स्थलमा आउने मतदाता नामावलीमा नाम भएका मतदातालाई मतदान गर्न दिन आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समिति धादिङको प्राङ्गणमा नमूना मतदान केन्द्र बनाई मतदान गरिएको हो ।
नमूना मतदान केन्द्रमा महिला, पुरुष, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाछुट्टै प्रवेश गर्ने बाटो बनाइएको थियो ।
प्रवेश गर्ने ठाउँमा र नमूना मतदान मत पेटिकाको सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी खटिएको थियो ।
धादिङमा सुरक्षाकर्मीबाहेक १ हजार ५ सय १५ जना कर्मचारी र ९ सय ९ जना स्वयंसेवक खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
धादिङमा आउनुपर्ने मतपत्र सबै आइसकेको र कर्मचारीको तालिम सकिएर सम्बन्धित मतदान केन्द्रमा कर्मचारी खटाउन थालिएको प्रमुख निर्वाचन अधिकृत ज्ञावालीले बताउनुभयो ।
