INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिताको पालन हुन सकेन, चुनावी सभामा बालबालिकाको प्रयोग

इन्सेक डोटी प्रतिनिधि गणेश जोशीका अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लास्थित राजनीतिक दलहरुले आचारसंहिता विपरीत बालबालिकाहरुलाई चुनावी सभामा सहभागि गराउँदै आएका छन ।

निर्वाचन आचारसंहितामा १८ वर्ष भन्दा मूनिका बालबालिकाहरुलाई राजनीतिक दलहरुका कार्यक्रममा प्रयोग गर्न नमिल्ने, भोज भतेर गर्न नपाइने, कुनै पनी पार्टीको झण्डा, चिन्ह् अंकित कपडा लगाउन नपाइने जस्ता बिषय उल्लेख गरीएको भएपनि जिल्लामा दैनिकजसो राजनीतिक दलका चुनावी सभामा बालबालिकाहरु प्रयोग हुदै आएका छन ।

जिल्लाका प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा मावबादी केन्द्र, एकीकृत समाजावदी र राष्ट्रीय जनमोर्चालगायतका दलहरुले बाजागाजासहित प्रचारप्रसार, उम्मेदवारका पोष्टर वितरण, नारा जुलुसहरुमा बालबालिकाहरुलाई प्रयोग गर्दै आइरहेका छन ।

photo20220507doti (1)

यसअघी जिल्ला प्रशासन कार्यालय, डोटीमा प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टको संयोजकत्वमा बसेको बैठकमा राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन हुने गरी कुनै पनी निर्वाचन लक्षीत गतिविधि नगर्ने प्रतिबद्धता जाहेर गरेका भएपनि सो अनुरुप राजनीतिक दलहरुले आचारसंहिता पालना तथा कार्यान्वयमा उदासिन देखिएका छन ।

राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता विपरीत बालबालिकाहरुलाई चुनावी सभामा प्रयोग गर्दै आएको मौखिक तथा फोनमार्फत सूचना प्राप्त भएको भएपनि आधिकारीक रुपमा जिल्ला प्रशासनमा कसैले उजुरी तथा निवेदन नदिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले बताउनु भयो ।

सम्पूर्ण दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाइसकेकाले उहाँहरुले आचारसंहिताको पूर्ण पालना गर्नु पर्ने र उपरान्त निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरिएको पाइएमा कानुनी कार्वाही गरिने प्रमख जिल्ला अधिकारी विष्टले बताउनु भयो ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसारसंघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु र सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेकपा एमालेका कार्यालय सचिव नारायणदत्त भट्टले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख २२ गते उजुरी दिनु भएको भएपनि उजुरी परेको तीन दिन वितिसक्दा समेत कुनै सुनवाइ हुन सकेको छैन् ।

मन्त्रीद्धय विरुद्ध उजुरी परेको तीन दिनसम्म पनि कुनै सुनवाइ हुन नसकेपछि सुरक्षाकर्मीहरुको सुरक्षा घेरमा निर्वाचन आंचारसहिंता विपरीत चुनावी प्रचार प्रसारमा सहभागि हुँदै आउनु भएको पाइएको छ ।

वैशाख २४ गते मात्रै मन्त्रीद्धयले नौगाड र मार्मा गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधन गर्नु भएको छ । यसअघि वनमन्त्री धामीले नौगाड गाउँपालिकाका वडासम्म पुगेर उम्मेदवारको पक्षमा भोट माग्नु भएको थियो ।

आचारसंहिता कार्यान्वयन गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय भने मन्त्रीहरुको बारेमा निर्वाचन आयोगले नै आचारसंहिता हेर्ने भन्दै पन्छिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेशबहादुर विष्टले मन्त्रीहरुको विषयमा आफूहरुले आचारसंहिता हेर्न नमिल्ने भएकोले गठबन्धनको पक्षमा मत माग्दै हिडेको भन्ने वेहोराको उजुरी निर्वाचन आयोगमा पठाएको बताउनु भयो ।

उहाँले भन्नु भयो– मन्त्रीहरुको हकमा हामीले कार्यान्वयन गर्न नमिलेर निर्वाचन आयोगमा पठाएका छौँ । उहाँहरुलाई आचारसंहिता बारे सचेत गराउने र कार्वाही गराउने कार्य आयोगको हो ।

निर्वाचन आचारसहिता २०७८ मा प्रदेश सरकार, संघीय सरकारका कुनै पनि मन्त्रीहरुले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न नहुने उल्लेख छ ।

अन्य

भिडियो