INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

त्रिपुरासुन्दरी नगरपालिकाका निवर्तमान कावा नगरप्रमुख चन्द्रकुमारी बुढाले निर्वाचन आचारसंहिता विपरित रुपियाँ वितरण गरेको आरोपमा निर्वाचन अधिकृतको कार्यालयमा वैशाख २४ गते उजुरी परेको छ ।

मतदातालाई प्रभावित पार्न आचारसंहिता विपरित रकम वितरण गरेको उजुरी कार्यालयमा परेपछि निर्वाचन अधिकृतको कार्यालय त्रिपुराकोटले रकम र श्रेस्ता नियन्त्रणमा लगेको जनाएको छ ।

नेकपा एमालेको पक्षमा चुनाव प्रचारप्रसारको क्रममा जाँदा आचारसंहिता विपरित गाउँघरमा प्रति ब्यक्ति १ हजार ५ सयका रुपियाँका दरले अपाङ्गता अनुदान रकम वितरण गरेर मतदातालाई प्रभावित पार्न खोजेकोले आवश्यक कारवाही गरी पाउन नेपाली काङ्ग्रेस नगर सभापति टोपबहादुर शाहीको निवेदन परेपछि नियन्त्रणमा लिएको निर्वाचन अधिकृत मोहनप्रसाद बेलवासेले जानकारी दिनु भयो ।

०७८ पुसमा निकासा भएको अपाङ्गता अनुदान रकम मतदान हुनुभन्दा ६ दिनअघि निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रभावित पार्ने मनसायले वितरण गर्नु उचित नभएकाले कारवाहीको लागि आफूले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको नेपाली काँग्रेसका नगरसभापति टोपबहादुर शाहीले बताउनु भयो ।

निर्वाचन अधिकृत बेल्वासेका अनुसार त्रिपुरासुन्दरी नगरपालिकाबाट ०७८ पुसमा निकासा भएको अपाङ्गता अनुदान कार्यक्रमको रकम निर्वाचन आचारसंहिता २०७८ लागु भइसकेकोले वितरण भएको वाहेक वितरण हुन बाँकी रहेको रकम र आवश्यक श्रेता नगरपालिकाको लेखा शाखामा यथार्थ रुपमा बुझाई निर्वाचन सम्पन्न पश्चात मात्र वितरण गर्ने र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने सर्तमा निवेदक पक्ष र निवर्तमान कावा नगरप्रमुखबीच छलफल गराएर अबआइन्दा आचारसंहित विपरित कार्य नगर्ने प्रतिवद्धता गराइएको छ ।

निवर्तमान कावा नगरप्रमुख बुढाले आफुले आचारसंहिताको ख्यालनगरेको स्वीकार गर्दै नेकपा एमालेको पक्षमा मतदातालाई आर्कषित गर्न कुनै नारा नदिएको र आफ्नो कार्यकालमा विनियोजन गरिएको रकम आफ्नै हातले वितरण गरौ भनेर अपाङ्गता ब्यक्तिहरुको घरआगनमै पुगेर वितरण गरेको बताउनु भयो ।

DolpaPhoto_2022-05-07. DolpaPhoto_20222-05-07

अन्य

भिडियो