मध्यपुरथिमि नगरपालिका क्षेत्रमा नेपाली कांग्रेससहितको सत्ता गठबन्त्रन र नेकपा एमालेले राखेको निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री निर्वाचन अधिकृतको कार्यालयले हटाउन सुरु गरेको छ ।
कार्यालयले नगर क्षेत्रको अनुगमन गर्दै जथाभावी राखिएका प्रचार सामग्री हटाउन थालेको मध्यपुरथिमि नगरपालिकाको निर्वाचन अधिकृत मैया कँडेलले जानकारी दिनु भयो ।
नगरपालिकामा नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादीले आचारसंहिता विपरित प्रचार सामग्रीहरू राख्ने गरेकाले सम्बन्धित पार्टीलाई त्यस्ता सामग्री हटाउन पटक पटक आग्रह गर्दा पनि नमाने पछि सुरक्षाकर्मीको टोली लगाएर हटाउने थालेको उहाँले बताउनु भयो ।
नगरपालिकाका बिभिन्न क्षेत्रमा पार्टीको झण्डा, चुनाब चिन्ह, फ्लेक्स, गाडीमा राखिएका झण्डा, ब्याज जस्ता प्रचार सामग्री सुरक्षाकर्मी लगाएर हटाउने काम भइरहेको उहाँले जानकारी दिनु भयो ।
निर्वाचन अधिकृत कडेलले भन्नुभयो, “हामीले दैनिक एक पटक अनुगमन गर्ने गरेका छौँ, बजार र भित्री गल्लीमा निर्वाचन आचारसंहिता विपरीत प्रचार सामग्रीहरू राखिएको पाइएको छ, त्यस्तो अबस्थामा तत्कालै दलका नेताहरूलाई जानकारी गराउदै हटाउने काम गरेका छौँ ।”
मध्यपुरथिमि नगरपालिकाका सहायक निर्वाचन अधिकृत केशव सिलवालले आचारसंहिता उलङ्घन गर्नेमा ठूला दलनै रहेको बताउदै लिखित उजुरी नआए पनि मौखिक उजुरी र अनुगमनकका क्रममा त्यस्ता आचारसंहिता विपरीतको सामग्री हटाउदै, फेरी नराख्न कडा निर्देशन दिने गरेको बताउनु भयो ।
दलहरूले घरदैलोको क्रममा राखेको प्रचार सामग्री हटाउँछौ भन्ने जवाफ दिने गरेको उहाँको भनाइ छ । ठूला दलले नियम मिच्दा साना दल र स्वतन्त्र उम्मेदवार मारमा पर्ने गरेको छन् ।