आफ्नै पार्टीका स्वतन्त्र उम्मेदवारबाट एक लाख रुपियाँको माला लगाएर समर्थन निष्कृय बनाएका ताँजाकोटमा गठबन्धन दलका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार लालकेश जैसी र नगद रुपियाँको माला लगाउने अकविर खड्कालाई निर्वाचन अधिकृतको कार्यालयले वैशाख २२ गते स्पष्टीकरण सोधेको छ ।
एक हजार नोट रहेको एक लाखको माला लगाएको विषय सार्वजनिक भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै जनालाई स्पष्टीकरण सोध्न लगाएको हो ।
निर्वाचनको अवधिमा २५ हजार भन्दा बढी नगदको विषय बाहिरिएकोले आचारसंहिता उल्लङ्घन गरेको पाइएकाले यसमा संलग्न अध्यक्ष पदका उम्मेदवार दुवै जनालाई स्पष्टिकरण सोध्ने कार्य भएको मुख्य निर्वाचन अधिकृत जगत बहादुर पौडेलले बताउनु भयो ।
सो घटनामा ताजाँकोट गाउँपालिकामा गठबन्धन दलबाट माओवादी केन्द्रका जैसी र सोही पार्टीका स्वतन्त्र उम्मेदवार खड्का मुछिएको सार्वजनिक भएको थियो ।
अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार खड्काले एक लाखको माला अध्यक्ष पदका प्रत्यासी जैसीलाई लगाएर आफ्नो उम्मेदवारी निष्कृय पार्नु भएको थियो । घटनामा संलग्न दुवै जनालाई ताँजाकोट गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले स्पष्टिकरण सोध्ने कार्य गरेको र जवाफ आएपछि आयोगमा पठाउने मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनु भयो । उहाँले भन्नु भयो, आवश्यक कारबाही आयोगले गर्नेछ ।
यो घटनामा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार खड्काले एक हजारका एक सय नोटलाई कपडासँगै सिलाएर माला बनाएर अर्का प्रत्यासी जैसीलाई माओवादी केन्द्रको वैशाख २१ गते भएको आमसभा कार्यक्रममा लगाएको तस्बिर सार्वजनिक भएको थियो । यसअघि माओवादी केन्द्रबाट खड्काले उम्मेदवारी पाउने चर्चा थियो ।
अन्तमा जैशी आफैँ सो पदमा उम्मेदवार बन्न सफल हुनु भएको थियो । उहाँका विरुद्ध सोही पार्टीका खड्का र गोपाल बुढा लगायतले स्वतन्त्र उम्मेदवारी दिएका थिए । बुढाले भने पहिले नै आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको थियो ।