स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्ने अनुमति लिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश, कार्यालय सुर्खेतको टोलीले निर्वाचनको तयारीका विषयमा सुर्खेतस्थित मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्र कुमार आचार्यसँग भेटघाट गरेको छ ।
इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीको नेतृत्वमा गएको टोलीले बैशाख २३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गरेको हो ।
मुख्य निर्वाचन अधिकृत आचार्यले निर्वाचन आचार संहिता उल्लंघनका घटनाको गुनासो छिटफुट रुपमा आउने गरेको बताउनुभयो । हालसम्म लिखित रुपमा वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १ बाट मात्रै विकास निर्माणसँग सम्बन्धित उजुरी आएको र बाँकी मौखिक रुपमा गुनासो आउने गरेको बताउनुभयो ।
उक्त विकास निर्माणको कामलाई रोक्न तत्काल निर्देशन दिएको र मौखिम रुपमा आएका सवै उजुरी तत्काल समाधान गर्ने गरेको उहाँको भनाई थियो ।
त्यस्तै, सुर्खेतस्थित राजनीतिक दलहरुले निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने भन्दै स्वंयम दलहरुबाटै आचारसंहिता उल्ंलङ्घनका घटना भएकोप्रति दुःख व्यक्त गर्नुभयो ।
छलफलका क्रममा राजनीतिक दलहरुले आफ्नो आचरण सुधार गनुपर्ने र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
राजनीतिक दलहरूले महिला उम्मेदवार संख्यात्मक भन्दा पनि गुणात्मकमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । मनोनयन दर्ताका क्रममा समेत महिला उम्मेदवारहरू अनविज्ञ प्रकट गरेको भन्दै कतिपय मनोनयन रद्ध भएको उहाँको भनाई छ ।
त्यसैगरी, इन्सेकको टोलीले कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलासँग समेत निर्वाचन सुरक्षा रणनीतिका विषयमा छलफल गरेको छ ।
छलफलका क्रममा निमित्त प्रमुख बास्तोलाले भौगोलिक विकटताले कर्णालीको शान्ती सुरक्षामा चुनौती थपेको भएपनि शान्ति सुरक्षा कायम गर्न अधिकतम प्रयास गरेको बताउनुभयो ।
एकै चरणमा हुने निर्वाचन भएकाले प्रदेशमा उपलब्ध जनशक्ति विगतको भन्दा कार्यालय व्यवस्थापनमा कम र निर्वाचनमा अधिकतम परिचालन गरेको बताउनुभयो । मतदान केन्द्रको संवेदनशीलताको आधारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएको उहाँको भनाई छ ।
मतदान केन्द्रमा मतपेटिका र मतपत्र पठाउन भन्दा पनि मतदान पछि मतगणनास्थलसम्म ल्याउन चुनौती रहेको उहाँको आंकलन छ ।
मुख्य निर्वाचन अधिकृत डा. आचार्य र प्रदेश प्रहरी निमित्त प्रमुख (एसएसपी) बास्तोलालाई इन्सेक प्रदेश संयोजक सुवेदीले मानव अधिकार वर्ष पुस्तक २०२२ समेत हस्तान्तरण गर्नुभएको थियो ।
यता, इन्सेक प्रदेश संयोजक सुवेदीले कर्णालीमा निर्वाचन पर्यवेक्षणका लागि दश वटै जिल्लामा इन्सेकको तर्फबाट २५ जना खटिने जानकारी गराउनुभयो । मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना कम गर्न राज्य र गैरराज्य पक्ष एक भएर लाग्नुपर्ने संयोजक सुवेदीले बताउनुभयो ।
