INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरित पोखरा महानगरपालिकाद्वारा रकम वितरणको तयारी

पोखरा महानगरपालिकाले निर्वाचन आचारसंहिता विपरित विपन्न परिवार लक्षित सहयोग वितरणकाे तयारी गरेको छ ।

महानगरपालिकाले विपन्न परिवारलाई नगद सहयोग गर्ने गरी यसअघि नै फारम भरेर सङ्कलन गरिएको १ हजार ३ सय ४६ जनाको नाममा अहिले दाबी विरोधका लागि वडामा पठाएको छ ।

महानगरले ०७९ वैशाख ९ गते कोभिड–१९ महामारीबाट प्रभावित अति विपन्न परिवारले प्राप्त गर्ने रकम, लाभग्राहीको दावी विरोधसम्बन्धी सूचना निकालेको थियो ।

त्यसपछि खाता खोल्ने प्रक्रिया अहिले चलिरहेको छ ।

जसमा नेकपा (एमाले)ले जितेको वडा नम्बर १३ मा मात्रै ७ सय १३ जनाको नाम पठाइएको छ ।

यसैगरी वडा नम्बर १५ मा १ सय ६६ जना, वडा १९ मा ८४ जना, वडा नम्बर १७ मा ६४ जना, वडा नम्बर १६ मा ६० जना, वडा नम्बर २२ मा ७९ जनाको नाम छ ।

यस्तै, वडा २८ मा ४४ जना, वडा २४ का २०, वडा २९ का २३ जना, वडा २१ मा नौ जना, वडा ८ का दुई जना र वडा २५ मा एक जनाले रकम पाउँदै छन् ।

कांग्रेसले जितेका केही वडा नम्बर १२ मा ३२ जना छन् भने वडा २ मा १७ जना, वडा ९ का १४ जना, वडा ३ र वडा १० का ५÷५ जना तथा वडा ३२ का एक जनाले रकम पाउने छन् ।

महानगरका सूचना अधिकारी भरतराज पौडेलले पहिलेदेखी नै प्रक्रिया चलिरहेको बताउँदै छिटो खाता नम्बर पठाउन नसके रकम फ्रिज हुने भएकाले हतारमा खाता खोल्न भनिएको जानकारी दिनुभयो ।

उहाँले तत्कालै खातामा रकम जम्मा गर्ने नभइ खाता खुलेपछि सबैको विवरण केन्द्रमा पठाउने र त्यसपछि मात्रै रकम जम्मा हुने बताउनुभयो ।

लाभग्राहीको छनोट गर्न उपमेयर मन्जुदेवी गुरुङको संयोजकत्वमा समिति गठन भएको छ ।

उपमेयर गुरुङ पुनः उपमेयर पदको उम्मेदवार भइ निर्वाचन प्रचारप्रसारमा हुनुहुन्छ ।

महानगरपालिकामा उपमेयर नभए पनि कार्यक्रम भने रोकिएको छैन ।

एनआईसि एसिया बैकले महानगरपालिकाका वडा वडामा पुगेर लाभग्राहीको खाता खोलेपछि महानगरपालिका भित्रको विपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ ।

नेपाली कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालले कार्यक्रम राम्रो भएपनि सहि समय नभएको बताउनुभयो ।

उहाँले अहिले निर्वाचनकै मुखमै दाबी विरोधको सूचना निकाल्नु र बैक खाता खोल्न लगाउनाले सन्देश राम्रो नजाने बताउनुभयो ।

‘विपन्नले रकम पाउनुपर्छ विरोध होइन तर चुनावको आचारसंहिता लाग्नु अघि गर्नुपर्ने हो ।  अब चुनावपछि गरे हुन्छ ।’,–उहाँले भन्नुभयो ।

उहाँले यसबारे मुख्य निर्वाचन अधिकृतको कार्यलयमा जानकारी गराइसकिएको बताउनुभयो ।

वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाले आफ्नो वडामा भने हाललाई उक्त कार्य स्थगित गरिएको जानकारी दिनुभयो ।

अन्य

भिडियो