स्थानीय तह निर्वाचन–२०७९ नजिकै जाँदा मतदाता शिक्षा सञ्चालन नगरिएका कारण मत बदर हुने डर रहेको जिल्लास्थित मतदाताहरुले गुनासो गर्नु भएको छ ।
राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले भोट माग्ने गरेको भएपनि कसरी मतदान गर्ने भन्ने बारेमा जानकारी नदिएका कारण मत बदर हुने डर बढ्दै गएको मंगलसेन नरपालिका–५ की मिना भाटले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘‘भोट कसरी हाल्ने भनेर अहिलेसम्म कसैले सिकाएका छैनन् । पहिलो पटक भोट दिने अवसर पाएकी छु । तर, भोक कसरी दिने भन्ने राम्रोसँग जानकारी नभएकोले बिग्रने हो की भन्ने घर पनि छ ।’
कतिपय स्थानीय तहमा गठबन्धनका उम्मेदवार समेत रहेकाले मतदाताले सही रुपमा मत हाल्न नसकेमा बदर मतको सङ्ख्या बढी हुने बान्नीगडी जयगड गाउँपालिका–३ की सुशिला साउदले बताउनु भयो ।
स्थानीय तह निर्वाचनमा नगरपालिका भए प्रमुख, उपप्रमुख र गाउँपालिका भए अध्यक्ष, उपाध्यक्ष सहित वडाध्यक्ष र पाँच वडासदस्य गरी सात जनालाई मतदान गर्नु पर्ने हुन्छ ।
निर्वाचन आयोगले यस पटकको स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा सञ्चालन नगरेका र राजनीतिक दलहरुले पनि मतदान गर्ने तरिकाका बारेमा जानकारी नदिएका कारण मतदाताहरुमा अन्यौँलता रहेको तुर्माखाद गाउँपालिका–५ का नरेश शाहीले बताउनु भयो ।
मतदाता शिक्षाका लागि निर्वाचन आयोगबाट बजेट तथा कार्यक्रम नपठाएकोले मतदान कै दिन मतदानस्थल मै मतदाता शिक्षा दिने आयोगको तयारी रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गजेन्द्रप्रकास थारुले बताउनु भयो ।
स्थानीय तह निर्वाचन–२०७४ मा १ लाख २७ हजार ७ सय ४२ मतदाता रहेका यस जिल्लामा ९० हजार १ सय ८५ मत खसेकोमा २ हजार ३ सय ३९ मत बदर भएका थियो ।
यस पटकको निर्वाचनमा जिल्लाका १० स्थानीय तहका ९१ वडामा १ लाख ५६ हजार २ सय ८० मतदाताले मतदान गर्न पाउने छन् ।