माओवादी केन्द्रको भातृ सङ्गठन वाईसीएलका कालिका नगरपालिका इन्चार्ज नवराज घलानको आक्रमणबाट एमालेका कार्यकर्ता महेन्द्र बिक घाइते भएका छन् ।
कालिका नगरपालिका–३, शान्ति टोल, पदमपुर निवासी ३४ वर्षीय बिकलाई वाईसील कालिकाका इन्चार्ज घलानले २१ गते राती ११ बजे फोन गरी घरबाट बोलाएर आक्रमण गरेका हुन् ।
घरबाट बोलाएर २ सय मिटर पर लगि १५/१६ जनाको समूहले बोत्तल तथा सीसाले टाउकोमा हानेको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले बिकमाथि कुटपिट भएको तर कारण राजनीतिक वा गैरराजनीतिक भन्ने विषयमा एकनि नभएको बताउनुभयो ।

पीडितका तर्फबाट आफन्तले प्रहरीलाई मौखिक जानकारी गराए पनि लिखित उजुरी प्राप्त भइनसकेको डिएसपी अधिकारीले बताउनु भयो । आरोपित अझै गिरफ्तार भएका छैनन् ।
एमालेको भातृ सङ्गठन युवा सङ्घका नगर सदस्य समेत रहेका बिकको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको नेकपा एमाले कालिकाका सचिव शुदर्शन अधिकारीले जानकारी दिए ।
बिकको टाउकोमा गम्भीर चोट लागेको छ ।