व्याँसी गाउँपालिकास्थित सौँका समुदायको कुञ्चा सर्ने बेला (बसाइसराई) निर्वाचन हुने भएपछि आफूहरु मतदान गर्नबाट वञ्चित हुने अवस्था आएको छांगरु र तिंकरका ज्येष्ठ नागरिक र सुत्केरीहरुले गुनासो गर्नु भएको छ ।
मतदान गर्न गाउँ नै पुग्नु पर्ने बाध्यता भएपछि आफूहरु मतदानबाट वञ्चित हुने अवस्था आएको उहाँहरुको भनाइ रहेको छ ।
स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि यस पटक व्याँस गाउँपालिका वडा नम्बर १ छांगरु र तिंकरका स्थानीयको लागि गाउँमा मात्रै मतदान केन्द्र कायम भएपछि सदरमुकाम खलंगामा बसेका ज्येष्ठ नागरिक र सुत्केरीहरु मतदानबाट वञ्चित हुने अवस्था आएको स्थानीय अमिता तिंकरीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘ज्येष्ठ नागरिक र सुत्केरीहरु गाउँ गएर मतदान गर्न सक्दैनन् । ज्येष्ठ नागरिकहरु चिसो ठाउँमा बस्न सक्दैनन् । बसाई सर्नु भन्दा अघि नै निर्वाचन भइदिएको भए सबै ज्येष्ठ नागरिक र महिलाले मतदान गर्न सक्थे । दुबै गाउँका झण्डै १ सय भन्दा बढी मतदाता निर्वाचनमा भाग लिन सक्ने अवस्था छैनैन् ।’
सुत्केरी, ज्येष्ठ नागरिक मात्रै नभएर घर हेरालु, सदरमुकाम खलंगामा बालबच्चालाई पढाउन बसेका अभिभावक पनि यो पटक मतदानको लागि गाउँ नजाने भएका छन् ।
व्याँस गाउँपालिकाका ९४ वर्षीय शंकरसिह ऐतवालले यसपटकको स्थानीय तहको निर्वाचनमा ज्येष्ठ नागरिकहरु मतदान गर्नबाट वञ्चित हुनु परेको दुखेसो गर्नु भयो ।
पञ्चायतकालमा पञ्चायत सदस्य बनेका ऐतवाललाई मतदान गर्ने इच्छा हुँदाहुँदै पनि मतदान केन्द्र पायक पर्ने ठाउँमा नहुँदा मतदानबाट वञ्चित हुनु परेको गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो–‘भोट हाल्न पाउने हाम्रो पनि अधिकार हो । तर, बसाइसराई भएको कारण हामी गाउँ जान सक्दैनौ । हामी व्याँसीहरुको लागि सदरमुकाम खलंगामा पनि एउटा मतदान केन्द्र राखिदिएको भए मतदान गर्न सक्थ्यौँ । अरुको सहारामा भए पनि गोप्य मतको सदुपयोग हुन्थ्यो । तर, सरकारले यो पटक हामीहरुको बारेमा सोचेन् । मलगायत कयौँ बृद्धबृद्धा उच्च हिमाली क्षेत्रमा गएर मतदान गर्न सक्दैनौँ ।’
सरकारले आफूहरुको बसाई सर्ने बेला छांगरु तिकरमा मात्रै मतदान केन्द्र राख्दा बसाइसराई गरेका खलंगामा आएका आधा मतदाता भोट हाल्नबाट वञ्चित हुनु परेको स्थानीय दानसिह तिंकरीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो–‘सदरमुकाम खलंगाको घर पनि हेर्नै पर्छ । चार / पाँच दिन लगाएर गाउँ पुगेर मतदान गरी फर्किने अवस्था हुँदैन् । नेपालतिर बाटो भएको भए एक दिन मतदान गरेर दोस्रो दिन फर्किन हुन्थ्यो । भारतीय बाटो हुँदै गाउँ जानु पर्छ । ७२ घण्टा सीमा नाका बन्द हुन्छ । बन्दको बेला आउजाउ गर्न पाइदैन् । यस्तो अवस्थामा दुवै गाउँका १ सय बढि मतदाता मतदान गर्नबाट वञ्चित हुने अवस्थामा पुगेका छन् ।’
व्यासको छांगरु तिंकर जान भारतीय प्रशासनको अनुमतिले मात्रै गाउँ पुगिन्छ । अहिले गाउँ जानको लागि २ सय ७५ जना महिला र ५ सय २१ जना पुरुष गरी ७ सय ९६ जनाले अनुमति लिएको सीमा प्रशासन कार्यालय, दार्चुलाका प्रमुख मोहनसिंह धामीले बताउनु भयो ।
छांगरु तिंकर जान अनुमति लिनेमा ४ सय १६ जना स्थानीय, जिल्ला बाहिर कामको सिलसिलामा जाने ४३ जना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ८० जना रहेका छन् ।
सरकारले छांगरुको लागि कैलाशपति आधारभूत विद्यालय छांगरु र तिंकरको लागि मोती महिला संघ आधारभूत विद्यालयमा मतदान केन्द्र तोकेको छ ।
निर्वाचनमा खटिने कर्मचारी र मतपेटिका तथा मतपत्र हेलिकेप्टरमार्फत ढुवानी गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ ।

