नेकपा एमालेका उम्मेदवार चढेर प्रचार प्रसार गर्न हिडेको गाडीमाथी सोही पार्टीका कार्यकर्ताद्वारा ढुङ्गा प्रहार गरेका छन् । एमाले जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले उप प्रमुख चम्फा पुरीको उम्मेदवारी जवरजस्ती फिर्ता गराएको भन्दै बनगाड कुपिण्डे नगरपालिकाको ढोरपिपलमा ढुङगा प्रहार भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
एमालेका जिल्ला सचिवालय सदस्य आशा वली र नरभुपाल शाह चढेको गाडीमा ढुङगा प्रहार गरेको प्रहरीले जनाएको छ । गाडीमा क्षति भएको भएपनि गाडीभित्र रहेका कसैलाई पनि चोटपटक नलागेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।
अध्यक्ष पुनले आफुले चुनाव जित्नका लागि पार्टीमा कुनै सल्लाह नै नगरेर पुरीको उम्मेदवारी आफैले फिर्ता लिएको र व्यक्तिसँग सहमति गरेको आरोप वनगाड कुपिण्डे नेकपा एमाले नगरकमिटी सचिव राजेश वलीले लगाउनु भएको छ । अध्यक्ष पुनलाई कारवाहीका लागि माग गरेको र कारवाही नभए कडा आन्दोलन गर्ने नगरकमिटी सचिव वलीले जानकारी दिनुभयो ।
अध्यक्ष पुनको मनोमानी भएको भन्दै कारवाहीका लागि नगरकमिटी तथा एमाले निकट जनवर्गिय सङ्गठनहरूले पार्टीको अनुशासन कमिटी समक्ष कारवाहीको माग गरेका छन् । पुन यस अघि बनगाड कुपिण्डे नगरपालिकामा नगर प्रमुखमा एमालेको तर्फबाट निर्वाचित भएका थिए ।
मनोनयन फिर्ताको दिन पुनले कुनै सल्लाह नै नगरी आफनै पार्टीको तर्फबाट उप मेयरमा सिफारिस भएकी चम्फा पुरीको उम्मेदवारी आफैले फिर्ता गराएको र नेपाली कांग्रेसका वागी उम्मेदवार दिएका दिपेन्द्र विष्टसँग व्यक्तिगत रुपमा सहमति गरेको आरोप लाग्दै आएको छ । घटनामा संलग्नको खोजी सहित थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।