INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा चुनावी अभियानका क्रममा आचारसंहिता उल्लङ्घन

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता प्रदेश १ मा उल्लङ्घन भएको पाइएको छ ।

निर्वाचन आचारसं‌हिता ०७८ को दफा १२ को (ङ) मा उम्मेदवारको कार्यालयमा ३×३ फिटको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने, तोकिएका भन्दा ठूलो साइजका झण्डा, चुनावी प्रचारप्रसारका क्रममा दुई ओटा सवारी साधनको प्रयोग, दलका चुनाव चिन्हृ अङ्कित भेष्टलगायतका सामाग्री उत्पादन, वितरण तथा प्रचारप्रसार आचारसंहिता विपरित भने पनि प्रदेश १ मा राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार मोरङमा अधिकांश राजनीतिक दलले भारतीय नम्वर प्लेटका सवारी साधनलाई चुनाव प्रसारप्रसारका लागि प्रयोग गरेका छन् । तोकिएभन्दा ठूलो साइजको झण्डा, मोटरसाइकल र्‍याली, दुई ओटा भन्दा बढी सवार साधनको प्रयोग, साउण्ड बक्सको प्रयोग र पर्चा पम्प्लेट अधिकांश उम्मेदवारले प्रयोगमा ल्याएका छन् । मिक्लाजुङ गाउँपालिका–५ को घरदैलो अभियानका क्रममा नेपाली कांग्रेसका कार्यकर्ताले मे १ ब ५१८ नम्वरको सरकारी मोटरसाइकल चुनाव अभियानका क्रममा प्रयोग गरेका छन् । मोरङमा उम्मेदवारहरूले आचारसहिता विपरित पत्रपत्रिकामा विज्ञापन प्रकाशन गरी भोट मागेका छन् ।

प्रदेश निर्वाचन कार्यालय मोरङ विराटनगरका अधिकृत लेवन कश्यप अधिकारीले प्रदेशभरी नै राजनीतिक दलले आचारसंहिता विपरितका गतिविधि गरेको दृश्य देखिएको भएपनि आचारसंहिता उल्लङ्घनका विषयमा आयोगमा उजुरी नपरेको बताउनु भयो ।

photo 20220502 Morang (1)

photo 20220502 Morang (2)

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा प्रमुख राजनीतिक दलले मापदण्ड विपरितको झण्डाको प्रयोग र सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । मत माग्नका लागि घरदैलो अभियानका क्रममा तोकिए भन्दा बढी सवारी साधनको प्रयोग तथा व्यानरहरूको प्रयोग देखिएको छ ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार जिल्लामा घरदैलो अभियानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको दृश्य देखिएको छ । राजनीतिक दलहरूले भोट माग्ने क्रममा मोटरसाइकल र्‍याली, टिसर्टको प्रयोग तथा वितरण गरेका छन् ।

इलाममा प्रतिनिधि बविता मैनालीका अनुसार जिल्लामा चुनाव मिति नजिकिएसँगै निर्वाचन आचारसंहिता उल्लङ्घनका दृश्य बढेर गएका छन् । तोकिएको भन्दा ठूला साइजका पर्चा पम्प्लेट बनाएर क्षेत्रमा टाँस गर्ने,सामाजिक सञ्जाल तथा रेडियोबाट भोट मागिएका सामग्री प्रसारण गर्ने क्रममा जिल्लामा बढेर गएको छ । जिल्ला निर्वाचन कार्यालयले आचासंहितासँग सम्बन्धित विषयमा उजुरी नपरेको जानकारी गराएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा अर्जुनधारा नगरपालिका–७ मा नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार गरेका छन् । गठवन्धनबाट वडाध्यक्ष पदका उम्मेदवारका नवराम ढुङ्गानाको समूहले अर्जुनधारा नगरपालिका–७ मा घरदैलो कार्यक्रममा मापदण्ड विपरीत झण्डा प्रयोग गरी आचारसंहिता उल्लङ्घन गरेको छ । नेकपा एमाले मेचीनगर नगरपालिका–१४ को चुनावी घरदैलो अभियानमा नगर प्रमुख र नगर उपप्रमुख पदका उम्मेदवार गोपालचन्द्र बुढाथोकी र मीना उप्रेतीसहित वडाका पाँचै जना एमालेका उम्मेदवारहरूले घरदैलोमा अभियानमा ‘आयो सूर्य आयो’ भन्दै विभिन्न जनवादी गीत गाउँदै, नाच्दै, रमाउँदै’ भन्ने बोलको गीतमा साउण्ड बक्स बजाएर भोट माग्ने तथा मापदण्ड विपरीतको ब्यानर प्रयोग गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् ।

photo 20220502 Jhapa

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लाका राजनीतिक दलहरूले बालबालिकालाई चुनावी प्रचारप्रसार अभियानमा सहभागी गराएका छन् । जिल्लामा निर्वाचन आयोगले तोके भन्दा ठूला साइजका झण्डा र पर्चा बनाएर विजुलीको पोलमा टाँस्ने तथा झुण्ड्याएर आचारसंहिता उल्लङ्घन गरिएको छ । चुनावी अभियानका क्रममा बालबालिकाको प्रयोग राजनीतिक दल र उम्मेदवारहरूले नगरेको तर बालबालिका आँफै चुनावी कार्यक्रम हेर्न आएको जनता समाजवादी पार्टीबाट इनरूवा नगरपालिका–२ मा वडाध्यक्ष पदमा उम्मेदवारी दिनु भएका शिवनारायण पण्डितले बताउनु भएको छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा बजार क्षेत्रमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना नदेखिए पनि मतदातालाई प्रभावित पार्न गाउँघरका क्षेत्रमा आचारसंहिता उल्लङ्घनका दृश्य देखिएका छन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरितका प्रचार सामग्री ग्रामीण क्षेत्रमा राजनीतिक दल र तिनका प्रतिनिधिले प्रयोगमा ल्याएका छन् । मापदण्ड विपरितका झण्डा, भेष्ट तथा टिसर्टको प्रयोग तथा विवरण ग्रामीण क्षेत्रमा राजनीतिक दलका प्रतिनिधिहरूले गरेका छन् ।

Photo 20220502 dhankuta (1)

Photo 20220502 dhankuta (2)

Photo 20220502 dhankuta (3)

Photo 20220502 dhankuta (4)

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा भोट माग्ने क्रममा बालबालिकाको प्रयोग गरिएको छ । घरदैलो अभियानका क्रममा मापदण्ड विपरितका झण्डा, साउण्ड बक्सको फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरिएको छ । मोटरसाइकल र्‍याली, बजार क्षेत्रमा पर्चा पम्प्लेट टाँस गर्नेलगायतका गतिविधि उम्मेदवार तथा राजनीतिक दलले गरेका छन् ।

20220502 bhojhapur (1)

20220502 bhojhapur (2)

20220502 bhojhapur (3)

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा आचारसंहिता उल्लङ्घनका उति सारो दृश्य नदेखिएपनि चुनावी अभियानका क्रममा मापदण्ड विपरितका झण्डा तथा चुनाव चिन्हृ अङ्कित सामाग्रीको प्रयोग गरिएको छ ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा तोकिए भन्दा बढी साइजका झण्डा तथा व्यानरको प्रयोग गरिएको छ । चुनावी अभियानका क्रममा नेपाली कांग्रेसका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबिच मेन्छ्यायेम गाउँपालिका–६ सिक्दीममा वैशाख १८ गते कुटपिट भएको छ । चुनावी अभियानका क्रममा होटलमा खाजा खाइरहेको अवस्थामा नेपाली कांग्रेसका कार्यकर्ता नारायण राई, विष्णु राई र नेकपा एमाले कार्यकर्ता रविना थापा, गोविन्द थापा र पदम थापाबिच कुटपिट भएको सिद्घेश्वर माध्यमिक विद्यालय सिक्दीमका शिक्षक जीवन लिम्बूले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । कुटपिट सामान्य भएकाले कोही कसैलाई चोटपटक नलागेको शिक्षकले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कोमल ठाकुरले प्रहरीमा उजुरी नआएको बताउनु भएको छ । जिल्लामा चुनावी अभियानका क्रममा उम्मेदवारहरूले मापदण्ड विपरितका झण्ठा तथा व्यानर प्रयोग गरेर आचारसंहिता उल्लङ्घन गरेका छन् ।

अन्य

भिडियो