महोत्तरीमा दलहरूद्वारा रुपमा निर्वाचन आचारसहिंताको उल्लङ्घन गरिएको देखिएको छ ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको उल्लङ्घनसम्बन्धी निर्देशिका अनुसार सार्वजनिक स्थानमा कुनै पनि राजनीतिक दलको झण्डा राख्न नपाइने बताइएपनि प्रायजसो सबै दलहरुले सार्वजनिक स्थलहरूमा राजनीतिक दलको झण्डा र चुनाव चिन्ह अङ्कित ठूलठूला व्यानरहरू झुण्ड्याएका छन् ।
औरही नगरपालिका, वडा कार्यालय, सार्वजनिक स्थल, गाउँको बाटो हँुदै जलेश्वर–बर्दिवास सडकखण्डमा भने निर्वाचन आचारसंहिता विपरित विभिन्न राजनीतिक दलको चुनाव चिन्ह अङ्किक झण्डा राखिएको पाइएको छ ।
औरही नगरपालिकामा नेपालका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी लगायत नेपालका प्रमुख राजनीतिक दलका चुनाव चिन्ह अङ्कित झण्डा झुण्ड्याएको छ ।
औरही नगरपालिकाको निर्वाचन अधिकृत सरोजकुमार गोइतले नगरपालिका, सरकारी कार्यालय, विद्यालय, मन्दिरलगायत सार्वजनिक स्थानमा पार्टीको झण्डा राख्न नपाइने निर्वाचन आचारसंहिता रहेको बताए ।
उनले निर्वाचन आचारसंहिता विपरित कहीँ कतै त्यस्ता झण्डा राखिएको छ भने व्यवस्थापन गरिने जानकारी दिए ।
निर्वाचन आचारसंहिता पालना गर्न स्थानीय तहको राजनीतिक दलका प्रतिनिधि बोलाएर अवगत गराइएको पनि निर्वाचन अधिकृत गोइतले भने ।
निर्वाचन आचारसंहितामा राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न भनिएको छ ।
यदि पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै उम्मेदवारलाई कारवाही गर्ने नियम रहेको छ ।
यस्तै निर्वाचनसम्बन्धी दलको भेला, कार्यक्रम, जुलुसमा दलको झण्डा, चिन्ह अङ्कित झोला, क्याप, गम्झा, मास्कलगायत प्रयोग गरेमा सम्बन्धित ब्यक्ति नै कारवाहीमा पर्नेसम्मको नियम रहेको निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ ।


