प्रहरीबाट यौन हिंसामा परेको बताउँदै आएकी ३८ वर्षीया एक महिलालाई कानूनी प्रकृयामा जानका लागि इन्सेकले वैशाख १२ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
जाजरकोटस्थित मानव अधिकार रक्षक सञ्जाल र इन्सेक जिल्ला प्रतिनिधिको सिफारिसमा मानव अधिकार सहायता कक्ष कर्णाली प्रदेश सुर्खेतको निर्णय अनुसार आर्थिक अवस्था कमजोर रहेकी पीडितलाई कानूनी प्रकृयामा जानका लागि १० हजार रुपियाँ सहयोग गरिएको मानव अधिकार सहायता कक्षका सदस्य निशा पौडेलले जानकारी दिनु भयो ।
उक्त सहयोग रकम जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही र मानव अधिकार रक्षक सञ्जाल जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले पीडितलाई हस्तान्तरण गर्नु भएको थियो ।
पीडित गर्भवति भएको र न्याय प्राप्त तथा जीवनयापनका लागि भन्दै सहयोगका लागि इन्सेकमा आग्रह गरेपछि आर्थिक अभावकै कारण न्याय पाउनबाट वञ्चित हुन नपरोस र पीडितले न्याय पाउन र जीवनयापनका लागि सहयोग पुगोस भनेर पीडितलाई आर्थिक सहयोग प्रदान गरेको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनु भयो ।
डडेलधुरा जिल्ला परशुराम नपा–४ घरभई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी हवल्दार ४० वर्षीय अजमान रोकायले २०७८ असोज १३ गते राति ८ बजेको समयमा डिउटीमा रहेको अवस्थामा पीडितको कोठामा प्रवेश गरी बलत्कार गरेको पीडितले आरोप लगाएकी छन् ।
“गर्भवति भएको सात महिना भयो । आफूले पटक पटक जिल्ला प्रहरी कार्यालयमा अजमानका बिरुद्ध उजुरी दर्ता गर्न खोजे पनि प्रहरीले उजुरी दर्ता गर्न नमानेको” पीडितले गुनासो गरेकी छन् ।
सङ्कटको समयमा इन्सेकले गरेको सहयोगले आफूलाई न्याय पाउन सहज हुने बताउँदै इन्सेकलाई पीडितले धन्यवाद समेत दिएकी छन् ।