INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा २२ हजार बढीको उम्मेदवारी, मोरङ र ताप्लेजुङमा उम्मेदवारविरूद्ध उजुरी

प्रदेश १ मा ६ हजार ५९ पदका लागि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन ०७९ मा २२ हजार ४ सय ४२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेशको एक महानगरपालिका, दुई ओटा उपमहानगरपालिका र नगरपालिकाको मेयरमा ४ सय २५ र उपमेयरमा ३ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिका अध्यक्षमा ४ सय ९१ जना र उपाध्यक्षमा ३ सय १८ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मोरङ र ताप्लेजुङमा उम्मेदवारविरूद्ध उजुरी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

वडाध्यक्ष पदमा ५ हजार १ सय ४० जना, ३ हजार ९ सय १५ जना महिला सदस्य, ३ हजार ५ सय १२ जना दलित महिला सदस्य र ८ हजार ४ सय ३८ जनाको खुल्ला सदस्यमा उम्मेदवारी परेको छ । प्रदेश १ मा एक ओटा महानगरपालिका, दुई ओटा उपमहानगरपालिका, ४६ ओटा नगरपालिका र ८८ ओटा गाउँपालिका गरी १ सय ३७ स्थानीय तहका १ हजार १ सय ५७ ओटा वडा छन् ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लाका १७ ओटा स्थानीय तहमा ४ हजार ८ सय ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार विराटनगर महानगरपालिकामा ७ सय २४ जना, लेटाङ नगरपालिकामा १ सय ६१ जना, सुन्दरहरैंचा नगरपालिकामा ३ सय १३ जना, बेलबारी नगरपालिकामा २ सय ९९ जना, पथरीशनिश्चरे नगरपालिकामा २ सय ८० जना, उर्लाबारी नगरपालिकामा २ सय ९४ जना, रङ्गेली नगरपालिकामा २ सय ८६ जना, सुनवर्षी नगरपालिकामा २ सय ७६ जना, रतुवामाई नगरपालिकामा २ सय ४९ जना गरी ३ हजार १ सय ९२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । केराबारी गाउँपालिकामा १ सय ९० जना, मिक्लाजुङ गाउँपालिकामा २ सय ४७ जना, कानेपोखरीमा १ सय ९० जना, बुढीगङ्गा गाउँपालिकामा १ सय ९१ जना, ग्रामथान गाउँपालिकामा १ सय ९५ जना, कटहरी गाउँपालिकामा २ सय ४ जना, धनपालथान गाउँपालिकामा १ सय ८२ जना र जहदा गाउँपालिकामा २ सय ६५ जना गरी १ हजार ६ सय ६४ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विराटनगर महानगरपालिकाको मेयर र उपमेयर पदका लागि वैशाख १२ गते मेयरमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपमेयरमा १७ जनाको उम्मेदवारी दर्ता भएको छ । विराटनगर महानगरपालिकाको मेयर, उपमेयर,वडाध्यक्ष र सदस्यहरूमा ७ सय २४ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत हेमबहादुर बुढाथोकीले बताउनु भयो । १९ ओटा वडा रहेको विराटनगर महानगरपालिकामा वडाध्यक्षतर्फ १ सय ७० जनाको उम्मेदवारी दर्ता भएको छ ।विराटनगर महानगरपालिका एमालेबाट उपमेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएकी शिल्पा निराला कार्कीसहित तीन जना महिला वडा सदस्यविरूद्ध वैशाख १३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । वैशाख १२ गते मनोनयन दर्ता गराउनु भएकी कार्की कोशी अस्पताल विकास समितिको सदस्य रहेको दाबीसहित दलीय गठबन्धनतर्फ जनता समाजवादी पार्टीका उपमेयर पदका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो । कार्कीसँगै अन्य तीन जना महिला वडा सदस्यविरुद्ध पनि उजुरी परेको छ । उजुरीका विषयमा आवश्यक जाँचबुझ गर्ने र निर्णय हुने मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताउनु भयो । कार्कीले वैशाख १३ गते कोशी अस्पताल विकास समितिको पदबाट राजीनामा लागि निवेदन दिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञ खरेलले बताउनु भएको छ ।  मेसु डा. खरेलले कार्कीले अस्पताल विकास समितिको सदस्य रहेको बताउनु भएको छ । सदस्य कार्कीले अस्पताल विकास समितिबाट बैठक भत्ता र आर्थिक सुविधा लिने गरेको बताउनु भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा वडा नम्बर ८ मा दुई जना महिला सदस्यका उम्मेदवार र वडा–१३ मा एक महिला सदस्य विरूद्ध उजुरी परेको छ । वडा–८ बाट मनोनयन दर्ता गराउनु भएकी गीता मुखिया र सुशीला सहनीविरूद्ध दलित नभएको उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा–१३ मा गौरीकुमारी वैश्यविरूद्ध भने अदालतले तोकेको जरिवाना नतिरेको विषयमा उजुरी परेको कार्यालयका सूचना अधिकारी हेमबहादु बुढाथोकीले बताउनु भयो ।

उपमेयर पदकी उम्मेदवार कार्कीको हकमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा लाभको पद भन्नाले निर्वाचन वा मनोनयनद्धारा पूर्ति गरिने राजनैतिक पदबाहेक सरकारीकोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्ने उल्लेख भएको बुदाँ आकर्षित हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लाका नौ ओटा स्थानीय तहमा ८ सय ७१ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । वैशाख ११ र १२ गते विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । फुङलिङ नगरपालिकामा १ सय ८२ जना, आठराई त्रिवेणी गाउँपालिकामा ६२ जना, फक्ताङलुङ गाउँपालिकामा ९७ जना, मिक्वाखोला गाउँपालिकामा ७१ जना, मेरिङदेन गाउँपालिकामा ७७ जना, मैवाखोला गाउँपालिकामा ७२ जना, पाथीभरा याङ्वरक गाउँपालिकामा ८९ जना, सिदिङ्मा गाउँपालिकामा १ सय १० जना र सिरीजङ्गा गाउँपालिकामा १ सय ११ जना उम्मेदवार रहेका छन् ।

मेयर पदका लागि ३२ जना र उपमेयर पदका लागि ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ६१ ओटा वडामा १ सय ९१ जनाले वडाध्यक्षको उम्मेदवारी परेको छ । ६१ ओटा वडामध्ये सिरीजङ्गा गाउँपालिका–३ सिकैचामा मात्र एक जना महिला वडाध्यक्ष कुमारी सावादेन उम्मेदवार बन्नु भएको छ । खुल्ला सदस्यतर्फ ३ सय २७ जना, महिला सदस्यमा १ सय ५४ जना र दलित महिला सदस्यमा १ सय २९ जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ । फुङलिङ नगरपालिकाको मेयरमा ६ जना र उपमेयरमा सात जनाले उम्मेदवारी दिएका छन् । मेयरमा ६ जना पुरूष र उपमेयरमा तीन जना पुरूष र चार जना महिलाको उम्मेदवारी दर्ता भएको छ । नगरपालिकाको ११ ओटै वडामा वडाध्यक्षमा पुरूष उम्मेदार बनेका छन् । मेयरमा नेकपा एमालेका छत्रपति प्याकुरेल र उपमेयरमा भिमादेवी ओझाले मनोनयन दर्ता गराउनु भएको छ । गठबन्धन दलबाट मेयरमा नेपाली कांग्रेसका अम्बिर मादेन र उपमेयरमा नेकपा माओवादी केन्द्रका बमबहादुर भटराईले उम्मेदवारी दिनु भएको छ । मेयरमा स्वतन्त्रबाट मिलन निरौला, जनता समाजवादी पार्टीबाट विमला दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेश लिम्बू र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हेमकुमार लिम्बूको उम्मेदवारी परेको छ । उपमेयरमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी अमृता गुरुङ, स्वतन्त्रबाट उमा गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्मला इजम थापा, जनता समाजवादी पार्टी नेपालका प्रदीप मादेन र मङ्गोल नेशनल अर्गनाइजेशनबाट मोहन गुरुङले मनोनयन दर्ता गराउनु भएको छ । फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका तर्फबाट सरोज एभेङ र उपाध्यक्षमा शान्ति लिम्बू पौडेल उम्मेदवारी दिनु भएको छ । गठबन्धनबाट माओवादीका राजन लिम्बूले अध्यक्षमा र उपाध्यक्षमा कांग्रेसका विकास साम्रा लिम्बूले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

आठराई त्रिवेणी गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा दिपेन पोमू र उपाध्यक्षमा शान्ता आङवुहाङले मनोनयन दर्ता गराउनु भएको छ । गठबन्धनबाट कांग्रेसका विश्वनाथ सिटौलाले अध्यक्ष र माओवादीका प्रजिन हाङवाङले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ । पाथीभरा याङवरक गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्ष केशरकुमार मेन्याङ्वो र उपाध्यक्षमा रनमाया गुरुङले मनोनयन दर्ता गराउनु भएको छ । कांग्रेसका रामबहादुर थेबेले अध्यक्षमा र माओवादीका कुमार लिम्बूले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

फुङलिङ नगरपालिकाका लागि स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गराएका दुई जना उम्मेदवारविरूद्ध वैशाख १३ गते उजुरी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बास्तौलाका अनुसार उम्मेदवारको वेरूजु फर्छौट नभएको दावीसहित उजुरी परेको छ । सहायक निर्वाचन अधिकृत बास्तौलाले भन्नुभयो,कुन पद र उम्मेदवारको नाम खुलाउन असमर्थ छौ । वैशाख १४ र १५ गते उजुरीमाथि छानविन हुन्छ ।” आठराई त्रिवेणी गाउँपालिकामा दुई जना उम्मेदवारविरूद्ध वैशाख १३ गते उजुरी परेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पालिका अध्यक्ष र सदस्य पदका उम्मेदवारविरूद्ध उजुरी परेको छ । निर्वाचन अधिकृत विदुर कोइरालाका अनुसार एक जना उम्मेदवारको पालिकामै ठेक्कापट्टा र एक जनाको वेरुजु पाइएको उजुरीमा उल्लेख छ । सिदिङ गाउँपालिकामा दुई जना विरूद्ध उजुरी परेको छ । निर्वाचन अधिकृत विनिता भट्टराईका अनुसार एक जना उपाध्यक्षका उम्मेदवार र एक जना वडासदस्यका उम्मेदवारविरूद्ध वैशाख १३ गते उजुरी परेको छ । फक्ताङलुङ गाउँपालिकामा दुई जना वडा सदस्यका उम्मेदवारविरूद्ध उजुरी परेको छ । निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार वडा सदस्यको वेरुजु भएको उजुरीमा उल्लेख छ । दलित महिला सदस्य र खुल्ला वडा सदस्य पदका उम्मेदवारविरूद्ध उजुरी परेको निर्वाचन अधिकृत दाहालले बताउनु भयो  । स्थानीय तह निर्वाचन तालिका अनुसार वैशाख १३ गते उम्मेदवारविरूद्ध उजुरी दर्ता र वैशाख १४ र १५ गते उजुरीमाथि छानविन गर्ने उल्लेख छ । वैशाख १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने उल्लेख छ ।

उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुसार स्थानीय तह निर्वाचनका लागि जिल्लामा १ हजार ४१ जनाले मनोनयन दर्ता गराएका छन् । मेयर पदमा ३९ जना, उपमेयरमा २९ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अध्यक्ष पदका लागि २४ जना, उपाध्यक्ष पदका लागि १४ जना, वडाध्यक्ष पदका लागि २ सय ६२ जना, महिला सदस्यमा १ सय ७४ जना, दलित महिला सदस्यमा १ सय ५९ र सदस्य पदका लागि ३ सय ४० गरी जिल्लामा १ हजार ४१ ले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत दीपक खनालले बताउनु भयो । जसमध्ये तीन जना महिलाले मेयर पदमा र १७ जना महिलाले उपमेयर पदमा मनोनयन दर्ता गराएका छन् । गाउँपालिका अध्यक्ष पदमा महिलाको मनोनयन दर्ता भएको छैन । उपाध्यक्ष पदका लागि आठ जना महिलाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत खनालले बताउनु भयो । त्रियुगा नगरपालिकामा मेयर पदका लागि १३ जना र उपमेयर पदका लागि ११ जनाले मनोनयन दर्ता गराएका छन् । त्रियुगा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदमा भागवत राउत र उपमेयरमा महेश्वरी राईले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेपाली कांग्रेसको तर्फबाट मेयरमा बसन्त बस्नेत र उपमेयरमा सरिता राईको उम्मेदवारी छ ।

कांग्रेस बाहेकका गठबन्धनको दलका तर्फबाट समाजवादीका नेता वलदेव चौधरीले मेयरमा उम्मेदवारी दर्ता गराउनु भएको छ । उपमेयरमा नेकपा माओवादी केन्द्रको तर्फबाट गीता खड्का कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रामकुमार कटुवाल र गङ्गादेवी विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट  दयाराम चौधरी र बसन्तदेवी झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हरिबहादुर राउत र रामवती चौधरी, सचेत नेपाली पार्टीका तर्फबाट योगराज कार्की र मन्दिरा बुढाथोकीले मेयर र उपमेयरमा मनोनयन दर्ता गराउनु भएको । जनता प्रगतिशिल पार्टीबाट शेख इमराईन, जनता समाजवादी पार्टीबाट मञ्जु राई र मौलिक जरोकिलो पार्टीका तर्फबाट गुरुदेव कार्कीले मेयर पदमा मनोनयन दर्ता गराउनु भएको छ । त्रियुगा नगरपालिकामा स्वतन्त्र तर्फ अम्बिकाकुमारी रेग्मी, चित्रबहादुर कार्की, नारायण खड्काले मनोनयन दर्ता गराउनु भएको छ । त्रियुगा नगरपालिकामा उपमेयर पदका लागि राजन ढकाल, रामकिसन सदा र सावित्रा थापाले स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन दर्ता गराउनु भएको छ । बेलका नगरपालिकामा दुर्गाकुमार थापा, र जिरा राईले नेकपा एमालेको तर्फबाट मेयर र उपमेयरका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अशोक कार्की र नेकपमा माओवादीबाट उपमेयरमा मनोज तामाङ्गको उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्द्रप्रसाद अधिकारी, मौलिक जरोकिलो पार्टीका रामबहादुर थापा, खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका घनश्याम राई र उर्मिला तामाङ्ग, जनसमाजवादी पार्टी नेपालका मनकुमार राई र गीता गिरीले मेयर र उपमेयर पदमा मनोनयन दर्ता गराउनु भएको छ ।  स्वतन्त्रमा उपेन्द्र विष्ट र कृष्णप्रसाद काफ्लेले मेयर र गङ्गा सरी राईले उपमेयरमा पदमा मनोनयन दर्ता गराउनु भएको छ ।

चौदण्डीगढी नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरमा कालुमान लामा र उपमेयरमा मणिकादेवी दुलालले उम्मेदवारी दर्ता गराउनु भएको छ । कांग्रेसका तर्फबाट खगेन्द्र राई र रीताकुमारी चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

मङ्गोल नेशनल अर्गनाईजेशनबाट भीमराज राई र समीक्षा राईले, राप्रपाबाट रामप्रसाद आचार्य र रेखाकुमारी ठाकुरले मेयर र उपमेयर पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । स्वतन्त्रतर्फ अम्बरबहादुर विष्ट र प्रशान्तकुमार राईले मेयर पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकृत महेशकुमार दाहालले बताउनु भयो । कटारी नगरपालिकामा नेकपा एमालेको तर्फबाट ज्ञानेन्द्र श्रेष्ठले मेयर र गीता खड्काले उपमेयर पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका राजेशचन्द्र श्रेष्ठ र माओवादी केन्द्रका दिवस कटुवालको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट भीमकुमारी कार्की र केपी बरालले मेयरका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । उदयपुरगढी गाउँपालिकामा नेकपा एमालेका तर्फबाट गोपाल खत्री र शोभा कुमारी मगरले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेकपा एकीकृत समाजवादीकातर्फबाट मानबहादुर केक्षापी मगर र कांग्रेसकातर्फबाट थमानकुमार थापाले मनोनयन दर्ता गर्नु भएको छ । स्वतन्त्रबाट चक्रबहादुर गुरुङ्ग दीपक तामाङ्ग, जितबहादुर पुलामी मगर, राममणि गुरागार्ईँ, बसन्त पौडेललगायत नौ जनाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ । उदयपुरगढी गाउँपालिकामा नौ जना अध्यक्ष, पाँच जना उपाध्यक्ष, ४१ जना वडाध्यक्ष, २५ जना महिला सदस्य, १९ जना दलित महिला सदस्य र ४८ जना सदस्य गरी १ सय ४७ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत धनबहादुर कार्कीले बताउनु भयो । लिङचुङ्गबुङ्ग गाउँपालिकामा अध्यक्षमा ६ र उपाध्यक्ष पदका लागि तीन जनाले मनोनयन दर्ता गराएका छन् । गठबन्धनकातर्फबाट नेकपा माओवादीबाट मेजरकुमार राईले साझा उम्मेदवारको रूपमा अध्यक्ष पदका उम्मेदवारी दर्ता गराउनु भएको छ । उपप्रमुखमा नेपाली कांग्रेसबाट पुष्पलाल राईले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एमालेका तर्फबाट लिङचुङ्गबुङ्गमा अध्यक्षमा राजकुमार राई र उपाध्यक्षमा देवीकुमारी कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वतमान उपाध्यक्ष रमिला राईले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराउनु भएको निर्वाचन अधिकृत तुलाराम सुनुवारले बताउनु भयो । अध्यक्ष पदका लागि भने मनदीप राईले राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट मनोनयन दर्ता गराउनु भएको छ । होमबहादुर राई, यादबकुमार राई र भलराज राईले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् । ताप्ली गाउँपालिकामा बाबुराम राई र मानकुमारी थापाले नेकपा एमालेका तर्फबाट अध्यक्ष उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट मानबहादुर गोले र सुशिलाकुमारी मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्णबहादुरसिंह ठकुरी, मङ्गोल नेशनल अर्गनाईजेशनबाट भक्तबहादुर राई, एकीकृत समाजवादीबाट इन्द्रबहादुर राई, माओवादी केन्द्रबाट ढुङ्गराज विश्वकर्मा र स्वतन्त्र महादेव रास्कोटीले मनोनयन दर्ता गराएका छन् । त्यस्तै उपाध्यक्षतर्फ सचेत नेपालीका भूमिनारायण राई र नेपाली कांग्रेसका धनामाया मगरले मनोनयन दर्ता गराउनु भएको छ । रौतामाई गाउँपालिकामा तीन जना अध्यक्ष र चार जना उपाध्यक्षसहित विभिन्न पदका लागि १ सय २० जनाले मनोनयन दर्ता गराएका छन् । एमालेको तर्फबाट भरत थापा र कुमारी ठकुरी, नेकपा माओवादी केन्द्रको तर्फबाट वीरेन्द्रकुमार मगरले अध्यक्ष र भुपिन्द्रबहादुर थापाले उपाध्यक्षको लागि मनोनयन दर्ता गराउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पाटीबाट सुवास राज शाही ठकुरीले अध्यक्ष र जानुका कार्कीले उपाध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । उपाध्यक्षमा कौशल राईले स्वतन्त्र उमेद्वारी दिनु भएको छ । पालिकामा वडा अध्यक्षमा ३२ जना, महिला सदस्यमा २० जना, दलित महिला सदस्यमा २० जना र सदस्यमा ४० जना गरी १ सय २० जनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार स्थानीय तह निर्वाचनका जिल्लामा १ हजार ११ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका १० ओटा स्थानीय तहका विभिन्न पदका लागि १ हजाार ११ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयप्रकाश बस्नेतले जानकारी दिनुभयो । मेयर पदमा २५ जना पुरूष एक जना महिलासहित २६ जनाले मनोनयन दर्ता गराएका छन् । उपमेयर पदमा तीन जना पुरूष र १६ जना महिलासहित १९ जनाले मनोनयन दर्ता गराएका छन् । अध्यक्ष पदमा २१ जना पुरूष र दुई जना महिलासहित २३ जनाले मनोनयन गराएका छन् । उपाध्यक्ष पदमा चार जना पुरूष र १५ जना महिलाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख बस्नेतले बताउनु भयो । पाँच नगरपालिका वडाध्यक्ष पदमा १ सय २५ जना पुरूष र तीन जना महिलासहित १ सय २८ जनाको मनोनयन दर्ता भएको छ । पाँच गाउँपालिका वडाध्यक्षमा ७९ जना पुरूष र दुई जना महिलासहित ८१ जनाले मनोनयन गराएका छन् । पाँच नगरपालिकामा १ सय १४ जना,पाँच गाउँपालिकामा ६३ जना पुरूषसहित १ सय ७७ जना महिलाले सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् । पाँच ओटा नगरपालिकामा ९९ जना, पाँच गाउँपालिकामा ५९ जनासहित १ सय ५८ जना दलित महिला सदस्यले मनोनयन गराएका छन् । खुल्ला महिला सदस्य पदका लागि १२ र  ३ सय ६९ जना पुरूषले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

धनकुटा प्रतिनिधि ईश्वर कार्कीका अनुसार स्थानीय तह निर्वाचनका लागि जिल्लामा ८ सय २२ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्लाका सात ओटै स्थानीय तहमा सत्ता गठबन्धन, एमाले, साना दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी निवेदन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तीन ओटा नगरपालिका रहेको धनकुटामा १६ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । जसमा १३ जना पुरुष र तीन जना महिलाको उम्मेदवारी परेको छ । १३ जनाको उपमेयरमा उम्मेदवारी परेकोमा आठ जना महिला र पाँच जना पुरूष रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो । चार ओटा गाउँपालिकामा अध्यक्षमा २३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा दुई जना महिला र २१ जना पुरूषको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिका उपाध्यक्षमा १६ जनाको उम्मेदवारी परेकोमा ११ जना महिला र पाँच जना पुरूष छन् । ६० ओटा वडा रहेको जिल्लामा वडाध्यक्षमा १ सय ९६ जनाले उम्मेदवारी दिएका छन । जसमा १ सय  ९३ जना पुरूष र तीन जना महिला छन् । खुल्ला वडा सदस्यमा २ सय ८८ जनाको उम्मेदवारी परेकोमा २ सय ८० जना पुरूष र आठ जना महिला रहेका छन् । महिला सदस्यमा १ सय ४३ जना र दलित महिला सदस्यमा १ सय २७ जनाको उम्मेदवारी परेको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । धनकुटाका विभिन्न स्थानीय तहका तीन ओटा वडामा दलित महिला सदस्यको एकल उम्मेदवारी दर्ता भएको छ । पाख्रीबास नगरपालिका–९, चौबिसे गाउ“पालिका–८ र सा“गुरीगढी गाउ“पालिका–७ मा एक–एक जना मात्र दलित वडा सदस्यको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनु भयो । पाख्रीबास–९ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला वडा सदस्यको रूपमा डम्बरकुमारी दर्जीको मात्र उम्मेदवारी दर्ता भएको छ । चौबिसे गाउ“पालिका–८ मा नेकपा एमालेबाट मात्र दलित वडा सदस्यको मनोनयन दर्ता भएको छ ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार दुई नगरपालिका र सात ओटा गाउँपालिका रहेको जिल्लामा ८१ ओटा वडा छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगरपालिका प्रमुखमा १२ जना र उपमेयरमा सात जनाले उम्मेदवारी दिएका छन् । गाउँपालिका अध्यक्षमा २७ जना र उपाध्यक्षमा २० जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । वडाध्यक्षमा २ सय ४४ जना र वडा सदस्यहरूमा चार सय २० जनामहिला सदस्य २ सय ९ जना, दलित सदस्य १ सय ९९ जना गरी १ हजार १ सय ३८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । मनोनयन दर्ताका क्रममा मुख्य दलहरूले आचारसंहिता उल्लङघन गरेका छन् । तर त्यस विषयमा भने निर्वाचन कार्यालयमा भने कुनै खालका उजुरी नआएको मुख्य निर्वाचन अधिकृत गेहेन्द्रराज पन्तले बताउनु भयो । प्रमुख दलहरूले मनोनयन दर्ता गराउँदा निर्वाचन आचारसंहिता उल्लघन गरेको इन्सेकले अनुगमनका क्रममा पाएको छ । मनोनयन दर्ताका समयमा झण्डासहित बाईक र्याली समेत गरिएको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लाका १२ ओटै स्थानीय तहमा प्रमुख तथा अध्यक्ष पदका लागि महिलाहरूको उम्मेदवारी न्यून मात्रामा दर्ता भएको छ । धरान उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारीसहित पाँच जना महिलाको उम्मेदवारी नगरप्रमु्खमा पर्दा १८ जना पुरूषको उम्मेदवारी परेको छ  । इनरुवा नगरपालिकामा १३ जना नगर प्रमुखको उम्मेदवारी दर्ता हुँदा नेकपा माओवादी केन्द्रका बिमला पोखरेलको एक मात्रै महिलाबाट प्रमुखको उम्मेदवारी परेको छ । हरिनगर गाउँपालिकामा ११ जना अध्यक्ष पदका उम्मेदवारमध्ये एक जना महिला उम्मेदवारको मनोनयन दर्ता भएको छ । कोशी गाउँपालिकामा १४ जना, गढी गाउँपालिकामा ११ जना र देवानगञ्ज गाउँपालिकामा १२ जना अध्यक्ष पदका उम्मेदवार रहेकोमा तीन पालिका एक जनापनि महिला अध्यक्षका उम्मेदवार नरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इटहरी उपमहानगरपालिकामा १८ जनाको प्रमुख पदमा उम्मेदवारी पर्दा दुई जना मात्रै महिला उम्मेदवार रहेका छन् । गढी गाउँपालिकामा उपाध्यक्ष पदका लागि नौ जना महिला, हरिनगरमा दुई जना पुरूष हुँदा पाँच जना महिला, कोशीमा एक जना पुरूष हुँदा आठ जना महिला, देवनागञ्जमा ६ जना महिला मात्रै छन् । धरानमा पाँच जना पुरूष र ६ महिला उपप्रमुखका उम्मेदवार छन् । इटहरीमा दुइ जना पुरूष हुँदा सात जना महिला उपप्रमुखका उम्मेदवार छन् । नेपाली कांग्रेसले इनरुवामा प्रमुखका लागि केदार भण्डारी, रामधुनीमा सुदीप अधिकारी, इटहरीमा हेमकर्ण पौडेल, धरानमा किसोर राई, दुहबीमा बेदनारायण गच्छदार, बराहक्षेत्रमा रमेश कार्की, हरिनगरमा गफार अन्सारी, कोशीमा ऐयुब अन्सारी, भोक्राहा–नरसिंहमा अजमल आजाद अन्सारी, देवानगंजमा श्यामलाल मेहता, गढीमा र बर्जुमा रघुनन्दन चौधरीको मनोनयन दर्ता गराएको छ । हरिनगर गाउँपालिकामा अध्यक्षका लागि नेपाली काग्रेंसबाट गफार अंसारी, नेकपा एमालेबाट लस्करी अंसारी, जनता समाजवादी पार्टीबाट धर्मवीर कुमार आर्य, जनमत पार्टीबाट कपिलेश्वर यादव, नेकपा माओवादी केन्द्रबाट कलावावती उराँवको मनोनयन दर्ता भएको छ । दुहवीमा गठबन्धन हुन नसकेपछि नेकपा एमाले र जसपा बीच गठबन्धन भएको छ । दुहबीमा मेयरमा एमालेका विनय पोखरेल र जसपाबाट उपमेयरमा सरोज सिंहको मनोनयन दर्ता भएको छ । नोपाली कांग्रेसबाट वेदनारायण गच्छदार र उपप्रमुखमा मेनुका खतिवडाले मनोनयन दर्ता भएको भएको छ । एमाले र जसपा गठबन्धनबाट दुहबी नगरका वडाअध्यक्षहरुमा १ मा अजुल हुसैन, २ मा इस्राफिल मियाँ, माधव भण्डारी, ४ मा राजन बस्नेत, ५ मा तेज नारायण रौनीयार, ६ मा बिरेन हलुवाई, ७ मा भिम चौधरी, ८ मा अमित राई, ९ मा ताज मियाँ( मुस्तकिम) , १० मा शंकर चौधरी, ११ मा खड्ग उराँव र  १२ मा रामचन्द्र चौधरीको मनोनयन दर्ता भएको छ । इनरुवा नगरपालिका वडा नम्बर ९ मा नेपाली काग्रेंसका तर्फबाट वडा अध्यक्षमा कृष्णदेव मेहता र १० नम्बर वडा अध्यक्षमा मोहमद खलिल अख्खतरले मनोनयन दर्ता गराउनुभएको छ । त्यसैगरी इनरुवा नगरपालिका वडा नम्बर ९ मा नेपाली काग्रेंसका तर्फबाट वडा अध्यक्षमा कृष्णदेव मेहता र सदस्यहरुमा मनोज कुमार यादव, रामसुन्दर साह, कुस्मी खत्वे र देवकी नेपालको मनोनयन दर्ता भएको छ । इनरुवा १० नम्बर वडा अध्यक्षमा मोहमद खलिल अख्खतर र सदस्यहरुमा बसन्त सरदार, तैयब हुसेन, मिरा सरदार र सुमित्रा ठाकुरले मनोनयन दर्ता गराउनुभएको छ । जनता समाजवादी पार्टीबाट इनरुवा नगरपालिका वडा नम्बर ९ वडा अध्यक्षमा सत्य नारायण मण्डल, सदस्यमा दिपनारायण मेहता, प्रेमलाल उराँव, पावर्ती खत्वे र विना चौधरीले मनोनयन दर्ता गराउनुभएको छ । कोशी गाउँपालिकाको अध्यक्षका लागि नेपाली काग्रेंसबाट ऐयुव अंसारी उपाध्यक्षमा अनिता यादवले उमेदबारी दिनुभएको छ भने नेकपा एमालेबाट अजय कुसियैत अध्यक्षमा र अनिता उराँवले उपाध्यक्षमा उम्मेदबारी दिनुभएको छ । त्यसैगरी  जनता समाजवादी पार्टीबाट देवकृष्ण यादव(गोवर्धन), नेकपा एसबाट रामचन्द्र मटियैत, नेकपा माओवादी केन्द्रबाट तुलसी यादव सहितको मनोनयन दर्ता भएको छ । यहाँका १ देखी ८ नम्बर वडामा नेपाली काग्रेंसबाट क्रममा १ मा निर्मल मण्डल, २ मा ध्यानी उराँव, ३ मा सुलेमान मंसुरी, ४ मा तजमुल मियाँ, ५ मा शाह जमाल, ६ मा जयशंकर खड्का, ७ मा रामचन्द्र कोईरी मेहता, ८ मा बलराम क्षेत्रीको मनोनय दर्ता भएको छ । त्यसैगरी नेकपा एमाले पार्टीको तर्फबाट कोसी गाउँपालिकाकाको अध्यक्षको लागि अजय कुशियैत र उपाध्यक्षमा अनिता उराँवले मनोनयन दर्ता गराउनुभएको छ ।  एमालेबाट कोशी १ नम्बर वडाध्यक्षमा रामचन्द्र यादव, २ नम्बर वडामा रामलेखन साह, ३ नम्बर वडामा श्यामसुन्दर सिंह, ४ नम्बर वडामा इसराइल मन्सुरी, ५ नम्बर वडामा इस्माइल मियाँ, ६ नम्बर वडामा इन्द्रदेव यादव, ७ नम्बर वडामा राधे यादव र ८ नम्बर वडामा जयप्रकाश साहले वडा अध्यक्षमा उम्मेदवार दर्ता गराएका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा झिनो मतले ऐयुब अन्सारीसँग पराजित भएका नेकपा एमाले कुशियैतको उम्मेदवारी दर्ता भएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार नौ ओटा स्थानीय तह रहेको जिल्लामा १ हजार २ सय ९८ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा ६ जना, उपप्रमुखमा सात जना, अध्यक्षमा ३९ जना र उपाध्यक्षमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षमा २ सय ३ सय ६५, महिला सदस्यमा २ सय ५७, दलित महिला सदस्यमा २ सय ३७ र खुल्ला सदस्यमा ५ सय ३६ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार जिल्लाका आठ ओटा स्थानीय तहका लागि ९ सय ५ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रमुखमा ६ जना, उपप्रमुखमा चार जना, अध्यक्षमा ३२ जना र उपाध्यक्षमा २३ जनाको उम्मेदवारी दर्ता भएको छ । वडाध्यक्षमा २ सय १५ जना, महिला सदस्यमा १ सय ५२ जना, दलित महिला सदस्यमा १ सय २६ जना र खुल्ला सदस्यमा ३ सय ४७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

इलाम प्रतिनिधि बविता मैनालीका अनुसार जिल्लाका १० ओटा स्थानीय तहका लागि १ हजार ४ सय ५७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रमुखमा २५ जना, उपप्रमुखमा २१ जना, अध्यक्षमा ३४ जना र उपाध्यक्षमा २३ जनाको उम्मेदवारी दर्ता भएको छ । वडाध्यक्षमा ३ सय ३४ जना, महिला सदस्यमा २ सय ५१ जना, दलित महिला सदस्य २ सय १७ जना र खुल्ला सदस्यमा ५ सय ५२ जनाले उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा १५ ओटा स्थानीय तहका लागि २ हजार ९ सय २९ जनाले उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रमुखमा ७७ जना, उपप्रमुखमा ५८ जना, अध्यक्षमा ५३ जना, उपाध्यक्षमा ५३ जनाले उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । वडाध्यक्षमा ६ सय ६९ जना, महिला सदस्य ४ सय ९९ जना, दलित महिला सदस्य ४ सय २३ जना र खुल्ला सदस्य १ हजार ८२ जनाले उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लाका १० ओटा स्थानीय तहका लागि १ हजार ३ सय २८ जनाले उम्मेदवारी दर्ता गराएको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रमुखमा १३ जना, उपप्रमुखमा ९ जना, अध्यक्षमा ३२ जना र उपाध्यक्षमा २७ जनाले उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । वडाध्यक्षमा २ सय ९५ जना, महिला सदस्यमा २ सय ३४ जना, दलित महिला सदस्यमा २ सय २२ जना र खुल्ला सदस्यमा ४ सय ९६ जनाले उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सोलुखुम्बु प्रतिनिधिका अनुसार जिल्लाका आठ ओटा स्थानीय तहका लागि ८ सय ११ जनाले उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रमुखमा पाँच जना, उपप्रमुखमा पाँच जना, अध्यक्षमा २९ जना र उपाध्यक्षमा २२ जनाले उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । वडाध्यक्षमा १ सय ६६ जना, महिला सदस्यमा १ सय ४५ जना, दलित सदस्यमा १ सय ३७ जना र खुल्ला सदस्यमा ३ सय २ जनाले उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लाका ६ ओटा स्थानीय तहका लागि ५ सय ८३ जनाले उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रमुखमा १३ जना, उपप्रमुखमा ६ जना, अध्यक्षमा १७ जना र उपाध्यक्षमा १४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । वडाध्यक्षमा १ सय २५, महिला सदस्य ९९ जना, दलित सदस्य ९० जना र खुल्ला सदस्यमा २ सय १९ जनाले उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

अन्य

भिडियो