स्थानीय तह निर्वाचन ०७९ का लागि राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू मनोनयन दर्ता गराइ रहेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जानकारी गराएका छन् ।
आगामी वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गतेलाई समय व्यवस्थान गरेको छ ।
वैशाख ११ गते न्यून मात्रामा उम्मेदवारी दर्ता भएपनि उम्मेदवारी दर्ताको अन्तिम दिन वैशाख १२ गते अपरान्हपछि स्वतन्त्र तथा प्रमुख दलका उम्मेदवारहरू मनोनयन दर्तामा सक्रिय भएपछि मनोनयन दर्ता सकसपूर्ण बनेको छ ।
इन्सेक प्रदेश १ कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालयले वैशाख १२ गते मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुगमन गरी मनोनयन दर्ता र आचारसंहिता उल्लङ्घनका विषयमा उजुरी परे नपरेको जानकारी लिएको छ ।
इन्सेक प्रदेश प्रमुख सोमराज थापा, प्रलेख अधिकृत पुण्य अधिकारी र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय प्रमुख नितु गड्तौलाको टोलीले विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र ग्रामथान गाउँपालिकामा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले वैशाख ११ गते न्यून उम्मेदवारले मात्र मनोनयन दर्ताका गराएको बताउनु भयो । मुख्य निर्वाचन अधिकृत लम्सालले प्रमुख राजनीति दल जिम्मेवार नबन्दा वैशाख १२ गते मध्यरातसम्म मनोनयद दर्ता गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।
कटहरी गाउँपालिकाका निर्वाचन अधिकृत मोहननाथ भट्टराईले स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले दुई दिनको समय दिएपनि प्रमुख राजनीतिक दलले वैशाख १२ गते अपरान्हपछि मात्र मनोनयन दर्ताका लागि समय निर्धारण गरेपछि मध्यरातसम्म उम्मेदवारी दर्ता हुने बताउनु भयो । उहाँले निर्वाचन आयोगले उपलब्ध गराएको सफ्टवेयरको युजर मध्यरातपछि बन्द हुने भएकाले सोही अनुसार निर्वाचन कार्यालयलाई जानकारी गराएको बताउनु भयो ।
ग्रामथान गाँउपालिकाका निर्वाचन अधिकृत भोलानाथ निरौलाले अनुगमन टोली समक्ष उम्मेदवारी दर्ताका लागि प्रस्ताव र समर्थक बस्ने र पछि आफू पनि उम्मेदवारी दर्ताका लागि आउँदा समस्या भएको बताउनु भयो । उहाँले मेयर र उपमेयर वा गाउँपालिका अध्यक्ष र वडाध्यक्षका लागि एउटै व्यक्ति प्रस्ताव र समर्थक बस्न नमिल्ने भएकाले निवेदन माग गरी त्यस किसिमका समस्या समाधान गरेको बताउनु भयो ।
अनुगमनका क्रममा विराटनगर महानगरपालिकामा राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घन गरेको दृश्य देखिएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख १२ गते उम्मेदवारी दर्ताका क्रममा उल्लङ्घन भएको पाइएको छ ।
निर्वाचन आचारसंहिताको परिच्छेद २ को सबैले पालना गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्थाको खण्ड घ, ङ, च, छ, ज, झ, सम्बन्धी व्यवस्था उल्लङ्घन गरिएको छ । घ मा व्यवस्था गरिएको उम्मेदवार वा राजनीतिक दलको चिन्ह अङ्कित टिसर्ट वा झण्डा प्रयोग निषेध गरिएपनि मनोनयन दर्ताका क्रममा सो दृश्य प्रदेश १ का १ सय ३७ ओटै स्थानीय तहमा देखिएको छ ।




























खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार काठमाडौबाट टिकट लिएर हेलिकोप्टर प्रयोग गरी दिक्तेल आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ विजयखर्कका ५० वर्षीय धर्मराज पोखरेललाई नेपाली कांग्रेसका कार्यकर्ताले वैशाख १२ गते दिक्तेलस्थित हेलिप्याडमा कुटपिट गरेका छन् । पीडित नेपाली कांग्रेस खोटाङका उपसभापति हुन । स्थानीय तह निर्वाचन ०७९ मा मेयरको टिकट लिएर आएका उनलाई कार्यकर्ताहरूले कुटपिट गरेका हुन् । नेपाली कांग्रेस प्रदेश कमिटिले धर्मराज पोखरेललाई टिकट दिएपछि आक्रोशित कार्यकर्ताले कुटपिट गरेका हुन् । आक्रोशित कार्यकर्ताले नेपाली कांग्रेको पार्टी अफिसमा ताला लगाएर नाराबाजी समेत गरेका छन् । नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशीले पाटीले धर्मराज पोखरेलको नाम सिफारिस गरेपछि टिकट नपाएका तिर्थराज भट्टराई लगायतको समूहले कुटपिट गरेको बताउनु भयो । आक्रमणबाट पोखरेलको टाउकोमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यलायका इन्स्पेक्टर सागर साहले आरोपितविरूद्ध वैशाख १२ गते साँझ सम्म उजुरी नआएको बताउनु भयो । जिल्लामा समयमा मनोनयन दर्ताका लागि उम्मेदवारहरू सक्रिय नहुँदा मध्यरातसम्म मनोनयन दर्ता हुने भएको छ ।





मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लाका १७ ओटै स्थानीय तहमा उम्मेदवारहरूले वैशाख १२ गते अपरान्हपछि मात्र मनोनयन दर्ता गराउन थालेपछि मनोनयन दर्ता सकसपूर्ण देखिएको छ । वैशाख ११ गते न्यून मात्रामा मनोनयन दर्ता गरिएको भएपनि वैशाख १२ गते मुख्य राजनीतिक दलले जुलुससहित मनोनयन दर्ताको कार्यक्रम राख्दा मोरङमा वैशाख १२ गते मध्य रातिसम्म मनोनयन दर्ता हुने मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले बताउनु भयो । जिल्लामा उम्मेदवारी दर्ताका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरिएका दृश्यहरू देखिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृत कार्यालयले आचारसंहिताका विषयमा कुनै पनि प्रकारको उजुरी नपरेको जानकारी गराएका छन् ।
ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा उम्मेदवारको मनोनयन दर्ता जारी छ । सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राप्रपा पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराइ राखेका छन् । उम्मेदवारी दर्ताको पहिलो दिन वैशाख ११ गते स्वतन्त्र उम्मेदवार र साना दलका उम्मेदवारले उम्मेदवारी दिएकाले वैशाख १२ गते भिडभाड भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले नौमती र च्याब्रुङ बाजासहित मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छ । अन्य दलले कुनै तामझाम विना मनोनयन दर्ताको प्रक्रियामा भाग लिएका छन् । ०७४ को स्थानीय तहमा जस्तो यो पटकको चुनावी र्यालीमा नेता तथा कार्यकर्ताको सहभागिता न्यून पाइएको छ ।
सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले बेलुकी ५ बजेभित्र कार्यालय प्रवेश गरेका सबै उम्मेवारले उम्मेदवारी दिन सक्ने निर्वाचन कार्यालयले जनाएको छ । तर दिन ढल्केपछि मात्र कार्यालयमा आएकाले मध्यरात सम्म दर्ताको काम गर्नुपर्ने भएको छ । मुख्य निर्वाचन अधिकृत प्रकाश राउतका अनुसार सबै दलले उमेद्वारी दर्ता गर्न ढिला गरेकाले उमेद्वारी दर्ताको काममा ढिलाई भएको हो । जिल्लाका नौ ओटै स्थानीय तहमा शान्तिपूर्वक उमेद्वारी दर्ता भइरहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी पोखरलेलले भन्नुभयो “नौ ओटै स्थानीय तहमा शान्तिपूर्ण तरिकाले मनोनयन दर्ता जारी छ ।”
फुङलिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका छत्रपति प्याकुरेल र उप मेयरमा भीमादेवी ओझाले मनोनयन दर्ता गराउनु भएको छ । गठबन्धन दलबाट मेयरमा नेपाली कांग्रेसका अम्बिर मादेन र उपमेयरमा नेकपा माओवादी केन्द्रका बमबहादुर भटराईको मनोनयन दर्ता भएको छ । फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका तर्फबाट सरोज एभेङले उम्मेदवारी दिनु भएको छ । गठबन्धनबाट माओवादीका राजन लिम्बु अध्यक्षमा र उपाध्यक्षमा कांग्रेसका विकास साम्रा लिम्बुले मनोनयन दर्ता गराउनु भएको छ । आठराई त्रिवेणी गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा दिपेन पोमू र उपाध्यक्षमा शान्ता आङवुहाङले उमेद्वारी दिएका छन् । काग्रेसका विश्वनाथ सिटौलाले अध्यक्ष र माओवादीका प्रजिन हाङवाङले उपाध्यक्षमा उमेद्वारी दिएका छन् । पाथीभरा याङवरक गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्ष केशर कुमार मेन्याङ्वो र उपाध्यक्षमा रन माया गुरुङले उमेदवारी दिएका छन् । कागस्रेका राम वहादुर थेबेले अध्यक्षमा र माओवादीका कुमार लिम्बुले उपाध्यक्षमा उमेद्वारी दिएका छन् । सिदिङ्मा गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्षमा मान वहादुर राई र उपाध्यक्षमा भुमिका गौतमको उमेद्वारी परेको छ । काग्रेसका प्रदीप राईले अध्यक्षमा र उपाध्यक्षमा माओवादीका बन्दना कडरियाले उमेद्वारी दिनु भएको छ । मिक्वाखोला गाउँपालिकामा एमालेले दिवस लिम्बु र मीना केदेमलाई क्रमश अध्यक्ष र उपाध्यक्षको उमेद्वार बनाएको छ । काग्रेसले भक्त कार्कीलाई अध्यक्षमा र माओवादीका डन्डु शेर्पालाई उपाध्यक्षको उमेद्वार बनाएको छ । एमालेले मैवाखोला गाउँपालिकाको अध्यक्षमा राजन कुमार थत्लुङ र उपाध्यक्षमा कौशिला थत्लुङ लिम्बुलाई उमेद्वार बनाएको छ । माओवादीले विजय किँरातलाई अध्यक्षमा र उपाध्यक्षमा काग्रेसले राजेश माश्वा लिम्बुलाई उमेद्वार बनाएको छ । सिरीजंङगा गाउँपालिकामा एमालेले सन्तोष चाम्लिङलाई अध्यक्ष र तुलसा बस्नेतलाई उपाध्यक्षमा मनोनयन दर्ता गरेको छ । काग्रेसले लालकृष्ण चौहानलाई अध्यक्ष र माओवादीले चित्र माबोलाई उपाध्यक्षमा उमेद्वार बनाएको छ । मेरिङ्देन गाउँपालिकामा एमालेले अध्यक्षमा केदार चोङवाङ र उपाध्यक्षमा टीका चोङवाङ वनेमलाई उमेद्वार बनाएको छ । गठबन्धनबा तर्फबाट काग्रेसका डम्बर हाङगाम अध्यक्ष र नेकपा एकीकृत समाजवादीका दुर्गाहाङ चोङबाङलाई उपाध्यक्षको उमेद्वार बनाएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धन, साना दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जिल्लाका १० ओटै पालिकामा पाँच दलीय गठबन्धन, साना दल र स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन् । खाँदबारीमा चार दलीय गठबन्धनबाट नगर प्रमुखमा नेपाली काँग्रेसका महेश थपलिया, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दिब्यराज बरालले मनोनयन गराएका छन् । नगर प्रमुखका लागि नेकपा एमालेबाट जीतबहादुर घिमिरे ,नगरउपप्रमुखमा महेश्वरा श्रेष्ठको मनोनयन गराएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिनुभयो । जिल्लाका १० ओटा स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त उम्मेदवारी दिएका छन् । जिल्लाभर ७६ वडा छन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मङ्गोल नेश्नल अर्गनाइजेसन र स्वतन्त्र उम्मेदवारले मात्र मनोनयन दर्ता गरेका छन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चैनपुर नगरपालिका उपप्रमुख, वडाध्यक्ष र सदस्य सहित पाँच पदमा मनोनयन दर्ता गराएका छन् । मङ्गोल नेश्नल अर्गनाइजेसनले चिचिला गाउँपालिका अध्यक्ष पदमा मनोनयन दर्ता गराएको छ । चिचिला गाउँपालिका अध्यक्षमा इन्द्र कुमारी गुरुङको मनोनयन दर्ता गराएको छ । खाँदबारी नगरपालिकाको मेयरमा एक युवाको स्वतन्त्र मनोनयन दर्ता गराएका छन् । जिल्लाका सबै स्थानीय तहमा वैशाख १२ गते मध्यरातसम्म मनोनयन दर्ता गराउनु पर्ने अवस्था रहेको जिल्ला निर्वाचन अधिकारी जयप्रकाश बस्नेतले बताउनु भयो । जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता रहेका छन् ।






उदयपुर प्रतिनिधि सुजता ढुङ्गानाका अनुसार जिल्लामा मनोनयन दर्ता शान्तिपूर्वक अवस्थामा भइरहेको छ । मुख्य निर्वाचन अधिकृत दीपक खनालका अनुसार निर्वाचन आयोगले वैशाख ११ र १२ गते उमेद्वारी दर्ता भनेको भए पनि १२ गते मात्रै जिल्लाका स्थानीय तहमा भएका निर्वाचन कार्यालयमा मनोनयन दर्ताको भिड लागेको छ । त्रियुगा नगरपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुखमा भागवत राउत र उपप्रमुखमा महेश्वरी राईले उमेद्वारी दर्ता गराएउनु भएको छ । नेपाली काँग्रेसको तर्फबाट प्रमुखमा बसन्त बस्नेत र उपप्रमुखमा सरिता राईले उमेद्वारी दर्ता गराउनु भएको छ । काँग्रेस बाहेकका गठबन्धनको दलका तर्फबाट एसका नेता बलदेब चौधरीले मेयरमा उमेद्वारी दर्ता गराउनु भएको छ । उपप्रमुखमा नेकपा माओवादी केन्द्रको तर्फबाट गिता खड्का कार्कीले उमेद्वारी दर्ता गराउनु भएको छ । त्रियुगा नगरपालिकामा स्वतन्त्रतर्फ चित्रबहादुर कार्की, नारायण खड्काले उमेद्वारी दर्ता गराउनु भएको छ । बेलका नगरपालिकामा दुर्गाकुमार थापा र जिरा राईले नेकपा एमालेको तर्फबाट प्रमुख, उपप्रमुखमा उमेद्वारी दर्ता गराउनु भएको छ । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका असोक कार्की र नेकपमा माओवादीबाट उपप्रमुखमा मनोज तामाङ्गले उमेद्वारी दिएका छन् । चौदण्डीगढी नगरपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुखमा कालु लामा र उपप्रमुखमा मणिका दुलालले उमेद्वारी दर्ता गराउनु भएको छ । कांग्रेसका तर्फबाट खगेन्द्र राई र रीताकुमारी चौधरीले उमेद्वारी दर्ता गराउनु भएको छ । मङ्गोल नेशनल अर्गनाईजेशन भिमराज राई र समीक्षा राईले राप्रपाबाट रामप्रसाद आचार्य र रेखा कुमारी ठाकुरले प्रमुख, उपप्रमुख पदमा उमेद्वारी दर्ता गराउनु भएको छ । स्वतन्त्रतर्फ अम्बरबहादुर विष्ट र प्रशान्तकुमार राईले मेयर पदका लागि उमेद्वारी दर्ता गराउनु भएको निर्वाचन अधिकृत महेशकुमार दाहालले बताउनु भयो । कटारी नगरपालिकामा नेकपामा एमालेको तर्फबाट ज्ञानेन्द्र श्रेष्ठ र गीता खड्काले उमेद्वारी दर्ता गराउनु भएको छ । उदयपुरगढी गाउँपालिकामा नेकपा एमालेका तर्फबाट गोपाल खत्री र कुमारी घलेले उमेद्वारी दर्ता गराउनु भएको छ । गठबन्दनका तर्फबाट काँग्रेसका राजेश चन्द्र श्रेष्ठ र माओवादी केन्द्रका दिवस कटुवालले उमेद्वारी दिएका छन् । स्वतन्त्रतर्फ भीमकुमारी कार्की र केपी बरालले मेयरका लागि उमेद्वारी दिएका छन् । लिङचुङ्गबुङ्गमा गठबन्धनका तर्फबाट नेकपा माओवादीका नेता मेजरकुमार राईले साझा उमेद्वारको रुपमा अध्यक्षमा उमेद्वारी दिएका छन् भने उपप्रमुखमा नेपाली काग्रेसकी रमिला राईले उमेद्वारी दिनु भएको छ । दुबै जना यसअघिका पालिका अध्यक्ष उपाध्यक्ष हुन् । त्यस्तै नेकपा एमालेका तर्फबाट लिङचुङ्गबुङ्गमा अध्यक्षमा राजकुमार राई र उपाध्यक्षमा देवीकुमारी कार्किले उमेद्वारी दिएको निर्बाचन अधिकृत तुलाराम सुनुवारले बताउनु भयो । ताप्ली गाउँपालिकामा बाबुराम राई र मनकुमारी राईले नेकपा एमालेका तर्फबाट अध्यक्ष उपाध्यक्षमा उमेद्वारी दर्ता गराएका छन् । रौतामाई गाउँपालिकामा एमालेको तर्फबाट भरत थापा र कुमारी ज्यू ठकुरीले मनोनयन दर्ता गरेका छन् । जिल्लामा रहेका नेपाली काँग्रेस नेकपा माओवादी , नेकपा एमाले र नेकपा एसले उमेद्वारी दर्ताका क्रममा निर्वाचन आचार संहिता उल्लङ्घन गरेका छन् । बालबालिकालाई निर्वाचनमा सामेल नगराउने, प्रचारप्रसारमा दुई ओटा भन्दा गाडी प्रयोग नगर्ने भएपनि ति कुराहरू मनोनयन दर्ताका क्रममा उल्लङ्घन भएका छन् । आचारसंहिता उल्लङ्घनका विषयमा निर्वाचन अधिकृतको कार्यलयमा कुनै उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत दीपक खनालले बताउनु भएको छ । जिल्लामा मध्यरातसम्म मनोनयन दर्ता हुने अवस्था छ ।




धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश आठपहरिया राईले मेयर उम्मेदवारी दर्ता गराउनु भएको छ । गठबन्धनबाट उपमेयरमा माओवादीका गणेश विष्टले उम्मेदवारी दर्ता भएको छ । गठबन्धनका उम्मेदवारले बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर वैशाख १२ गते मनोनयन दर्ता गराएका छन् । धनकुटा नगरपालिकाको मेयर पदमा नगरपालिकाका निवर्तमान मेयर चिन्तन तामाङले नेकपा एमालेबाट मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । उपमेयरमा एमालेले भीमा खनालको उम्मेदवारी दिएको छ । पाख्रिवास नगरपालिकामा गठबन्धनको तर्फबाट मेयर कांग्रेसका ज्ञानबहादुर गुरुङ र उपमेयरमा माओवादीका ओमप्रकाश निरौलाले उम्मेदवारी दिएका छन । एमालेले भीम राईलाई मेयरमा नम्रता देउजालाई उममेयरको उम्मेदवार बनाएको छ । महालक्ष्मी नगरपालिकामा गठबन्धनको तर्फबाट मेयर कांग्रेसका ध्रुवराज राया र उपमेयरमा माओवादीका प्रेम खड्काले उम्मेदवारी दिएका छन । एमालेले दीपक बुढाथोकीलाई मेयरमा मञ्जु कार्कीलाई उममेयरको उम्मेदवार बनाएको छ । सहिदभूमि गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादीका भरतसिह राई र उपाध्यक्षमा कांग्रेशका तोर्ण खड्काले उम्मेदवारी दिएका छन । एमालेले मनोज राईलाई अध्यक्षमा र रत्नश्वरी राईलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । छथर जोरपाटी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेसका छत्र सुब्बा र उपाध्यक्षमा माओवादीकी गीता गुरुङ खेवाले उम्मेदवारी दिएका । एमालेले शेर बहादुर लिम्बूलाई अध्यक्षमा र गोमा कार्कीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । साँगुरीगढी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेशका जितेन्द्र रुम्दाली राई र उपाध्यक्षमा जनता समाजवादी पार्टीले लिलाराज लावतीलाई उपाध्यक्षमा उम्मेदवारी दिएका छन । एमालेले कुमार जंग याखालाई अध्यक्षमा र उपाध्यक्षमा मुना राईलाई उम्मेदवार बनाएको छ । चौविसे गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादीका दलबहादुर मगरले र उपाध्यक्षमा जनता समाजवादीकी दिवा चेम्जोङले उम्मेदवारी दिएका छन भने एमालेले राजकुमार चेम्जोङलाई अध्यक्षमा टंकमाया मगरले उपाध्यक्षको उम्मेदवार बनाएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता भइरहेको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनको लागि समय दिएको भएपनि भोजपुरका दलले भने वैशाख १२ गते मात्र उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगले दुई दिन मनोनयन दर्ताको समय तोकेको भए पनि ठूला दलहरुले मनोनय दर्तामा ढिलाई गर्दा समयमा मनोनयन समय भित्र हुन नसकेको मुुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, सङ्घीय समाजवादी लगायतका दलहरुले वैशाख १२ गते उम्मेदवारी दर्ता गएका छन् । शान्तिपूर्ण ढङ्गमा मनोनयन दर्ता भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार रार्यले बताउनु भयो । कति जनाले उम्मेदवारी दिए भन्ने सम्पूर्ण जानकारी आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत गेहेन्द्रराज पन्तले बताउनु भयो ।






तेह्रथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार स्थानीय तह्र निर्वाचन २०७९ को ११ गते म्याङ्लुङ नगरपालिको मेयर पदका लागि एक स्वतन्त्रको उम्मेदवार र वडा ३ वडा अध्यक्ष को स्वतन्त्र उम्मेदवार मेन्छ्यायेम गाउँपालिकामा र फेदाप गाउँपालिकामा नेकपा एमाले को सबै पदको लागि उम्मेदवार परेको छ । वैशाख १२ गते म्याङ्लुङ नगरपालिका फेदाप गाउँपालिकामा मेन्छ्यायेम गाउँपालिका र छथर गाउँ पालिकामा गठबन्धन को सबै पदको उमेदवार परेको छ। मनोनयन दर्ताका लागि वैशाख १२ गते ढिलो गरी उम्मेदवार अएकाले मध्यरातसम्म मनोनयन दर्ता हुने निर्वाचन आयोगका सूचना अधिकारी दिपक भण्डारी बताउनु भएको छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा मनोनयन दर्ता ढिलो गरी सुरु हुँदा मध्यरातसम्म मनोनयन दर्ता हुने भएको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुुसार वैशाख १२ गते ढिलो गरी मनोनयन दर्ताका लागि उम्मेदवारहरु आउँदा मनोनयन मध्यरात सम्म हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख १२ गते सिद्विचरण नगरपालिकामा एमालेबाट इच्छा कुमारी गुरुङले मेयरमा उम्मेद्धारी दर्ता गराउनु भएको छ । वैशाख ११ गते पालिका अध्यक्षमा ११ जनाले उमेदवारी दर्ता गराएका थिए । जिल्लाका आठ वटा स्थानीय तहका पालिका अध्यक्षमा स्वत्रन्त्र एकजनासहित ११ जनाले पालिका अध्यक्षमा उमेदवारी दिएका हुन् । मानेभज्याङ गाउँपालिकामा माओवादी केन्द्रबाट १ वडा अध्यक्ष र चार वडा सदस्यको मनोनयन दर्ता गरिएको छ । मङ्गोल नेसनल अर्गनाईजेसनबाट १ अध्यक्ष, १ उपाध्यक्ष, तिन वडा अध्यक्ष र ७ वडा सदस्यमा उमेदवारी दिएको छ । चिशंखुगढी गाउँपालिकामा राप्रपाले १ पालिका अध्यक्ष,१ वडा अध्यक्ष र १ सदस्य, माओवादी केन्द्रले २ वडा अध्यक्ष र १२ वडा सदस्यमा उमेदवारी दिएको छ । यता चम्पादेबी गाउँपालिकामा पहिलो दिन मंगोल नेशनल अर्गनाईजेशनले अध्यक्ष,उपाध्यक्ष र वडा अध्यक्षमा १–१ र वडा सदस्यमा चारजनाको उमेदवारी दिएको छ । मोलुङ गाउँपालिकामा नेकपा माले र राप्रपाले १–१ पालिका अध्यक्ष,खिजिदेम्बामा नेकपा एमालेले पालिका अध्यक्ष र उपाध्यक्षमा १–१ जना,वडा अध्यक्षमा ९ र सदस्यमा ३४ जनाले उमेदवारी दिएका छन् । जनता समाजवादी पार्टीबाट अध्यक्ष,उपाध्यक्ष १–१,वडा अध्ययक्ष ७ र सदस्यमा २७ जनाको उम्मेदवारी परेको छ । सिद्धिचरण नगरपालिकामा राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष र सदस्य पदमा १–१ जनाले उमेदवारी दिएका छन् । सुनकोशी गाउँपालिकामा मंगोल नेशनल अर्गनाईजेशनले अध्यक्ष र उपाध्यक्षमा १–१,वडा अध्यक्ष २ र सदस्यमा ८ तथा नेपाली काग्रेसबाट एक वडा अध्यक्ष र जसपाबाट १ वडा सदस्यका लागी उम्मेदवारी परेको छ । लिखु गाउँपालिकामा स्वत्रन्त्र रुपमा १ पालिका अध्यक्ष,१ उपाध्यक्ष र १ वडा अध्यक्षको उमेदवारी परेको छ । यस वाहेक नेकपा एमालेबाट अध्यक्ष उपाध्यक्ष १–१ , वडा अध्यक्ष ७ र सदस्यमा २२ जनाको उमेदवारी परेको जिल्ला निर्वाचन अधिकृत प्रेम प्रसाद न्यौपानेले बताउनु भयो ।





