दुई जना महिलालाई भारतको दिल्लीमा लगेर बिक्री गरेको कसुरमा जिल्ला अदालतले दुप्चेश्वर गाउँपालिका–१ की ३३ वर्षीया सरस्वती तामाङ भन्ने जेर्कुमेन्दो तामाङलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले वैशाख ८ गते दुई फरकफरक मानव बेचविखनको मुद्दामा उक्त फैसला गरेको हो ।
२३ वर्षीय महिलालाई बेचविखन गरेको कसुरमा २० वर्ष कैद सजाय, २ लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र २१ वर्षीय महिलालाई बेचविखन गरेको कसुरमा २० वर्ष कैद हुनेमा लगाउको मुद्दामा थप ५ वर्ष कैद, २ लाख रुपैयाँ जरिवाना र ५० हजार क्षतिपूर्तिको फैसला भएको जिल्ला अदालतकी इजलास अधिकृत तथा सूचना अधिकारी रिता लामिछानेले जानकारी दिनुभयो ।
दुई फरक मुद्दा भएको कारण २०÷२० वर्ष कैद सजायमध्ये २० वर्षमात्र कार्यन्वयन हुने र लगाउको मुद्दाको ५ वर्ष सजाय जोडिने भएकोले कसुरदारले २५ वर्ष कैद सजाय भुक्तान गर्नु पर्ने र क्षतिपूर्ति र जरिवाना भने जोडिने भएकोले ४ लाख क्षतिपूर्ति र १ लाख जरिवाना तिर्नु पर्ने सूचना अधिकारी लामिछाने जानकारी दिनुभयो ।
२१ र २३ वर्षीया दुई महिलालाई २०७१ जेठ १८ गते काठमाडौं–विरगन्ज हुँदै भारतको दिल्ली लगेर बिक्री गरेको भन्दा तामाङविरुद्द जिल्ला प्रहरी कार्यालय नुवाकोटमा २०७१ साउन १४ गते उजुरी दर्ता भएको थियो ।
आरोपित तामाङलाई प्रहरीले २०७६ असोज २६ गते गिरफ्तार गरेको थियो ।