INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागि निर्वाचन आचरसंहिता पूर्ण रुपमा पालना गर्ने राजनीतिक दलहरुको प्रतिबद्धता

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचरसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा वैशाख ७ गते धनगढीमा अयोजित स्वच्छ, निष्पक्ष तथा भयरहित स्थानीय निर्वाचनका लागि सरोकारवालाको भुमिका र प्रतिबद्धता विषयक अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले सो प्रतिबद्धता जाहेर गर्नु भएको हो ।

मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले वैशाख ३० गते  हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सबै पार्टीका प्रमुख तथा प्रतिनिधिहरुको मुख्य भूमिका रहने भएकोले आसन्न स्थानीय निर्वाचनमा निर्वाचन आचरसंहित पूर्ण रुपमा पालना गर्न आग्रह गर्नु भयो ।

Photo20220420kailali

प्रदेश सभा सदस्य तथा नेकपा (एकिकृत समाजवादी) का सचेतक माननीय दुर्गा बिकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सफलताका साथ सम्पन्न गर्न चुनावमा  भाग लिने सबैको कर्तव्य तथा जिम्मेवारी भएकाले आपसी समझदारी हुनु आवश्यक भएकोले निर्वाचन आचारसंहिताको पालना गर्ने र गराउने प्रतिबद्धता जाहेर गर्नु भयो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा स्थानीय निर्वाचन सम्पन्न गर्न र आम नागरिकको भोट हाल्ने अधिकार सुनिश्चित गर्न मतदान केन्द्रको स‌म्बेदनशीलताका आधारमा सुरक्षाको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय तयारी अवस्थामा रहेको बताउनु भयो ।

photo20220420kailali (3)

नेकपा (एकिकृत समाजवादी) का जिल्ला कमिटिका उपसचिव दिर्घ जोशीले स्थानीय निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयरहित बनाउन आफ्नो पार्टी प्रतिबद्ध  रहेको बताउँदै अरु पार्टीसँग प्रतिस्पर्धा गर्नु पर्ने र कतिपय ठाउँमा भोट माग्न जाँदा जनताले नपत्याउने अवस्थामा आचारसंहिता उल्लङ्घन हुने हुँदा आगामि चुनावमा आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता गर्नु भयो ।

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य कृष्ण चौधरीेले निर्वाचन आचारसंहिता कार्यान्वयन गराउने निकायले विभिन्न मानव अधिकार उल्लङ्घन गरेका व्यक्तिहरुको उम्मेदवारीमा  निगरानी गर्नु पर्ने बताउँदै स्वच्छ, निष्पक्ष तथा भयरहित स्थानीय निर्वाचनका लागि निर्वाचन आचाारसंहिता पुर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य फोनिराम चौधरीले वैशाख ३० गते हुने स्थानीय तहको चुनाव स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गरिनु पर्ने र यसका लागि आफ्नो पार्टी सचेत र प्रतिबद्ध रहेको बताउनु भयो ।

photo20220420kailali (1)

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष गयाप्रसाद कुश्मीले वैशाख ३० गते हुने चुनावमा आफूलगायत पार्टीका सबै कार्यकर्ताले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने बताउनु भयो ।

नेकपा एमालेका जिल्ला उपसचिव लोकेन्द्र शाहीले सबै दल मिलेर गएको खण्डमा आचारसंहिता उल्लङ्घन नहुने भएकोले निर्वाचन आचरसंहिताको पूर्ण पालन गर्न नेकपा एमाले प्रतिबद्ध रहेको बताउनु भयो ।

नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष माधव चौधरीले साना दल भन्दा ठुला दलले आचरसंहिता उल्लङ्घन गर्ने भएकोले  निर्वाचन आयोगले गम्भिरता पुर्वक अनुगमन गर्नु पर्ने र आफूहरु आचरसंहिताको पूर्ण रुपमा पालन गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशिक निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा उल्लेख गरिएका व्यवस्थाका सन्दर्भमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

photo20220420kailali (2)

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्ला निर्वाचन कार्यालय, दार्चुलाले वैशाख ६ गते जिल्ला सदरमुकाम खलङ्गामा आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकमा जिल्लास्थित राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन राजनीतिक दलसँग गरिएको सर्वपक्षीय बैठकमा जिल्लास्थित राजनीतिक दलका नेताहरुले निर्वाचन कार्यालय, निर्वाचन अधिकृत, सुरक्षा निकाय, पत्रकार लगायतको उपस्थितीमा निर्वाचन आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेकपा एमालेका जिल्ला कमिटी सचिव शेरसिह धामीले आचारसंहितालाई पूर्ण रुपमा कार्यान्वय गर्नु पर्ने र यसमा नेकपा एमाले प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो–‘आचारसंहिता राम्रा छन् । तर, कार्यान्वयन कस्तो हुन्छ भन्ने मुख्य कुरा हो । निर्वाचनमा खटिने कर्मचारीहरु पनि निष्पक्ष भएर परिचालित हुनु पर्छ । निष्पक्ष र भयरहित निर्वाचनमा हामी प्रतिबद्धछौँ ।’

नेपाली कांग्रेसका उपसचिव राजु अवस्थीले निर्वाचन आचारसंहिता पालना गर्न आफूहरु प्रतिबद्ध रहने बताउनु भयो ।

यसैगरी नेकपामा माओवादी केन्द्रका खडकसिंह धामी, नेकपा एकीकृत समाजवादीका विष्णु हुम्ली, राष्ट्रिय प्रजातन्त्र पार्टीका चक्रबहादुर बमलगायतले आचारसंहिता पालना गर्ने प्रतिबद्ध रहेको बताउनु भयो ।

Photo20220419darchula

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरूलगायत सरोकारवालाले स्थानीय तह निर्वाचन ऐन, २०७३, निर्वाचन आचारसंहिता तथा निर्वाचन आयोगबाट प्राप्त निर्देशनहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पत्रकार महासंघ, दार्चुला शाखा अध्यक्ष कृष्णसिंह धामीले मिडियाको तर्फबाट आचारसंहिता पालना र अनुगमनमा सहयोग रहने बताउनु भयो ।

उहाँले २०७८ चैत २५ गतेदेखि निर्वाचन आंचारसंहिता लागु भइसकेको हुँदा सबैले आआफ्नो क्षेत्रबाट प्रतिबद्धता सहित कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले निर्वाचन आचारसंहिता पालना गर्नु सबैको दायित्व हुने बताउनु भयो ।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले निर्वाचन कार्यालयले विशेष संयन्त्रमार्फत आचारसंहिता कार्यान्वयन भएनभएको अनुगमन गर्ने बताउनु भयो ।

उहाँले निर्वाचन अधिकृतको कार्यालय खुलेपछि सबै क्षेत्रमा आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गरिने र निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सबै दल, पत्रकार, नागरिक समाज, अधिकारकर्मी, सुरक्षा निकायको सहयोग र सहकार्य अपरिहार्य रहेको बताउनु भयो ।

अन्य

भिडियो