INSEC Online

📅 २०८३ जेष्ठ २१

कमलामाई नगरपालिकाले निर्माण गरेको सेफ हाउस सञ्चालनः हिंसा पीडित महिलाले गरे सुरक्षा महसुस

कमलामाई नगरपालिकाको सहयोगमा निर्माण गरिएको सेफ हाउस (महिला सुरक्षा भवन)  ०७८ चैत २९ गतेदेखि सञ्चालनमा आएको छ । हाल सो सेफ हाउसमा १४ जना हिंसा पीडित महिलालाई राखिएको छ ।

हिंसा पीडित ३५ वर्षीया महिलाले भाडाको घरबाट हालको भवनमा आएपछि आफूले थप सुरक्षित महसुस गरेको बताउनु भयो ।

भाडाको घरमा रहँदा अर्काले निगरानी गरेको छ कि भन्ने मानसिक तनावका साथै सुरक्षा चुनौति पनि रहेकोमा अहिल त्यो समस्या हटेको जानकारी दिनु भयो ।

कमलामाई नगरपालिकाको ८८ लाख ३६ हजार २७९ रुपैंया लागतमा सेफ हाउस निर्माण गरिएको उपमेयर मञ्जु देवकोटाले जानकारी दिनुभयो ।

हिंसामा परेका महिलाहरुलाई न्यायमा पहुँच पु¥याउनका लागि कमलामाई नगरपालिकाले आफ्नै लागतमा सेफ हाउस निर्माण गरेको पनि उपमेयर देवकोटाले बताउनुभयो ।

सेफ हाउसले हिंसामा परेका महिला र बालिकालाई समस्यामा परेको बेलामा राहत दिने उहाँको भनाई छ । उहाँले हिंसामा परेका महिला र बालिकालाई न्याय नपाएर समाजमा पुनःस्र्थापन नहुँदासम्म सेफ हाउसमा राखिने बताउनुभयो ।

यसअघि विभिन्न निकायको सहयोगमा कमलामाई नगरपालिका ६ मा भाडामा सेफ हाउस सञ्चालनमा ल्याईएको थियो । भवन निर्माण सम्पन्न भएपछि हाल सेफ हाउस आफ्नै भवनमा रहेको सञ्चालक गीता देवकोटाले जानकारी दिनुभयो ।

सेफ हाउसमा जिल्ला र जिल्ला बाहिरका पनि महिलाहरु राख्नु पर्ने हुँदा कहिले काही ठाउँ अपुग हुने गरेकोमा नगरपालिकाले सेफ हाउस निर्माण गरिदिएपछि समस्या हटेको उहाँले बताउनुभयो ।

महिला सुरक्षा भवनमा एउटा किचन, एउटा कार्यालय कोठा, हिंसामा परेका महिलाहरूलाई सिप सिकाउन एउटा तालिम सिक्ने हल र नौ ओटा कोठामा आवसको व्यवस्था मिलाईएको छ ।

सेफ हाउस सञ्चालनका लागि कार्यविधि बनाईने र सोहि अनुसार सञ्चालन गर्ने उपमेयर देवकोटाले जानकारी दिनुभयो ।

संधै नगरपालिकाले मात्र सञ्चालन गर्न सम्भव नहुने भएकाले यो महिला सुरक्षा भवन जिल्ला स्तरको बनाउने उहाँले जानकारी दिनुभयो ।

यहाँ कमलामाईमा हिंसामा परेका मात्र महिला नभएर जिल्ला भर र जिल्ला बाहिरका पनि महिलाहरू बस्नु पर्ने भएकाले महिला सुरक्षा भवन जिल्ला स्तरको हुने उहाँको भनाई रहेको छ ।

कर्यविधि बन्दै गरेको र नौ ओटै स्थानीय तहका प्रमुख/उप–प्रमुखसँग आवश्यक समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।

आगामि दिनमा महिला सुरक्षा भवन जिल्ला समन्वय समिति सिन्धुलीको प्रमुख प्रमुख संरक्षक हुने र कमलामाई नगरपालिकाको मेयर/उपमेयर वा नगरपालिकाले तोकेको महिला जनप्रतिनिधि संयोजक रहने उहाँले जानकारी दिनुभयो ।

महिला सुरक्षा भवन भाडामा सञ्चालन गर्दा धेरै समस्या आएको र आफ्नै भवन भएपछि ती समस्याहरू समाधान भएको उहाँले जानकारी दिनुभयो ।

अन्य

भिडियो