INSEC Online

📅 २०८३ जेष्ठ २१

पीडितलाई औषधोपचार का लागि सहयोग, कानुनी कारवाहीको माग

६ वर्षीया बालिकालाई चैत १२ गते मकवानपुर जिल्ला बागमती गाउँपालिका–८ राइगाउँ घर भई रामगोपालपुर नगरपालिका–३ दोलाठी बस्ने २० वर्षीय राजेश लामाले बलात्कार गरेको भनिएको घटनाको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवानलगायतको टोलीले चैत २६ गते स्थलगत अध्ययन गरी घटनाको बारेमा जानकारी लिएको छ ।

पीडित बालिकामाथि चैत १२ बलात्कार भएको भनिएपनि पीडित परिवारले चैत १६ गते मात्र घटनाका बारेमा बालिकाले बताएपछि थाहा पाएको पीडितका अभिभावकले बताए ।

पीडित पक्षले आरोपितविरुद्ध चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपनि बालिकाको उपचारका लागि रकम नभएका कारण औषधि उपचार गर्न नसकेको टोलीसँगको कुराकानीमा पीडितका अभिभावकले दुःखेसो पोखे ।

पीडित बालिकाको स्वास्थ्य उपचारका लागि चैत २५ गते एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) जलेश्वरमा गएको तर ओसिएमसी बन्द रहेको हुँदा अस्पतालमा जाँदा औषधि खरिद गर्न भनेपछि आफूसँग औषधि खरिद गर्न पैसा नभएर फर्किएको अनुगमन टोलीलाई पीडित बालिकाका बाबुले बताए ।

पीडित बालिकाको उपचारका लागि इन्सेक मधेस प्रदेश कार्यालयले ५ हजार रुपियाँ पीडित परिवारलाई उपलब्ध गराएको छ ।

आरोपितलाई चैत १७ गते हातिलेबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णप्रसाद पङ्गेनीले बताउनु भयो ।

घटनालाई गम्भीरताका साथ लिएर अनुसन्धान कार्य भइरहेको अनुगमन टोलीलाई एसपी पङ्गेनीले जानकारी दिनु भयो ।

पीडित बालिकाको चैत १६ गते साँझ जिल्ला अस्पताल जलेश्वरमा स्वास्थ्य परीक्षण गरिएको उहाँले बताउनु भयो ।

घटनामा संलग्न दोषीलाई कारबाहीका लागि प्रभाकारी अनुसन्धान गर्न र पीडित बालिकाको उपचार तथा क्षतिपूर्तिका लागि पहल गर्न अनुगमन टोलीले एसपीलाई आग्रह गरेको छ ।

पीडित बालिकाको स्वास्थ्य उपचार र मनोविमर्श आवश्यक रहेकाले त्यसका लागि सम्बन्धित निकायमा पहल गरिने राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताउनु भयो ।

अन्य

भिडियो