त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४८ वर्षीय परिमल सार्की गाई गोठालो गएको अवस्थामा गोडा भाँचिएपछि उपचारको लागि जिल्ला अस्पताल दुनैमा जानु भयो ।
तर, अस्पतालमा विद्युत नहुँदा उहाँको गोडाको एक्सरे हुन सकेन । जिल्लामै उपचार हुने अवस्था हुँदाहँुदै पनि महङ्गो हवाई भाडा तिरेर उहाँलाई नेपालगन्ज ल्याएर आफन्तले उपचार गरे ।
अस्पतालमा रहेको एक्सरे मेसिन विद्युत नहुँदा थन्क्याउनु पर्ने र सोलारले राम्रोसँग काम नगर्ने भएपछि जिल्लामै उपचार हुने सामान्य रोगको उपचारका लागि पनि सुविधासम्पन्न सहरमा जानु पर्ने बाध्यता छ ।
जिल्ला अस्पताल डोल्पामा नियमित बिजुली नहुँदा बिरामीको स्वास्थ्य परीक्षणदेखि उपचारमा समेत समस्या हुने गरेको हो ।
दुनैस्थित जैरीगाड जलविद्युत केन्द्रले विगतमा नियमित विद्युत आपूर्ति गदै आएपनि पछिल्लो समय भोल्टेजले नभ्याउने भन्दै नियमित विद्युत आपूर्ति नगरेपछि जिल्ला अस्पताल दुनैमा समस्या आएको हो ।
अस्पताल जस्तो सम्वेदनशील संस्थामा नियमित विद्युत नहुँदा उपचारको क्रममा समस्या हुने गरेको अस्पतालका मेडिकल अधिकृत डाक्टर अखण्ड उपाध्यायले बताउनु भयो ।
अस्पतालमा रहेको सोलार ब्याट्री बिग्रेकाले विद्युत लाइन नभएको बेलामा उपचारमा धेरै समस्या आउने गरेको डाक्टर उपाध्यायको भनाइ छ ।
नियमित विद्युत आपूर्ति नहुँदा उपचारमा समस्या पर्ने गरेकाले नियमित विद्युत आपूर्ति गरिदिन दुनैस्थित जैरीगाड विद्युत प्राधिकरणलाई आग्रह गर्दै आएको भएपनि सुनुवाइ नभएको स्वास्थ्य सेवा कार्यालय दुनैका प्रमुख अमर सिंह शाहीले बताउनु भयो ।
नेपाल विद्युत प्राधिकरण दुनै वितरण केन्द्रले अस्पतालको नियमित लाइन काटेर तिप्ला, लोचा, थाला र मेहलसेरा गाउँमा नियमित विद्युत आपूर्ति भने गरिरहेको छ ।
अस्पताल जस्तो सम्वेदनशील संस्थामा अन्य क्षेत्रको विद्युत लाइन काटेर भएपनि नियमित विद्युत आपूर्ति गर्नुपर्ने डोल्पा नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले बताउनु भयो ।
नेपाल विद्युत प्राधिकरण दुनै वितरण केन्द्रद्वारा सञ्चालित जैरीगाड विद्युत गृहमा जडान गरिएको जेनेरेटर मेसिनमा खराबी आएकाले सबै ठाउँमा आलोपालो गरेर विद्युत आपूर्ति गर्ने गरिएको दुनै वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले बताउनु भयो ।
विद्युत उत्पादन कम भएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल र जिल्ला अदालतमा उपलब्ध गराउँदै आएको नियमित विद्युत आपूर्ति काटिएको प्रमुख कर्णको भनाइ छ ।