INSEC Online

📅 २०८३ जेष्ठ २१

भीम विक मृत्यु घटना भवितव्यमा परिणतः श्रेष्ठलाई ६ महिना कैद सजाय

भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षीय भीमबहादुर विकको हत्या आरोप लागेका दुई आरोपितबारे चितवन जिल्ला अदालतले चैत २५ गते फैसला सुनाएको छ ।

न्यायधीश गायत्री रेग्मीको इजलासले गरेको फैसला अनुसार आरोपित दिलीप श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिएको छ भने आरोपित सीताराम बस्नेतले सफाइ पाएको सूचना अधिकारी श्रेष्तेदार इश्वर आचार्यले जानकारी दिनुभयो ।

आवेश पेरित हत्या भनी मुद्दा चलाइएकोमा अन्तत अदालतले भवितव्य ज्यानमा मुद्दा परिणत गराएको हो । फैसलाको पूर्ण पाठ आउन बाँकी रहेको छ ।

दुर्गाचोकमा रहेको दुर्गा मन्दिरमा दशैंका बेला बोका चढाउने विषयमा ०७७ असोज २८ गते भीमबहादुरले सोधखोज गर्दा गालीगलौज र कुटपिट भएको मृतकको परिवारको आरोप थियो ।

स्थानीय ३७ वर्षीय सीताराम बस्नेत ३६ वर्षीय दिलिप श्रेष्ठले कुटपिट गरी हत्या गरेको भनी मृतकका छोरा किसान विकले प्रहरीमा जाहेरी दिएका थिए ।

आरोपीतहरुलाई सोही दिन नै गिरफ्तार गरी प्रहरीले अनुसन्धान थालेकोमा कात्तिक २२ गते आरोपित दुवैजना पूर्पक्षका लागि थुनामा गएका थिए ।

राहत रकम र दोषीलाई कानुनी कारबाहीको माग गर्दै परिवारले भीमको शव बुझेको थिएन । घटना भएको तीन महिनापछि मात्र आफन्तले शव बुझेका थिए ।

भीम विकको मृत्यु विशुद्ध अपराधिक घटना भएकोमा जातीयताको विषयलाई जबरजस्ती स्थान दिइएको एक पक्षको भनाई थियो भने जातीय कारणले नै हत्या भएको पीडित पक्षको दावी थियो ।

मृतकको परिवारले गृह मन्त्रालयबाट माघ १९ गते १ लाख रुपैयाँ राहत रकम पाएका छन् ।

शवको पोष्टमार्टम रिर्पोटमा उल्लेख भए अनुसार हेड इन्जुरी अर्थात टाउकोमा लागेको चोटका कारण खुलाइएको थियो ।

अन्य

भिडियो