गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १३ औँ पटक पेशी सरेर पुनः अर्को मिति तोकिएको छ । चितवन जिल्ला अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार चैत २८ गते सोमबारका लागि तोकिएको पेशी ०७४ जेठ २१ गतेका लागि सारिएको हो ।
मुद्दा हेर्ने न्यायाधीश कविप्रसाद न्यौपाने निर्वाचन प्रयोजनले राजधानीमा रहेकाले यस पटकको पेशी सरेको उनले जानकारी दिए ।
छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही माग गर्दै अनसनरत आमा गङ्गामायाले गत भदौ २७ गते मात्र अनसन तोडेकी थिइन् । तथापि उनले अहिले पनि खाना नखाएको बताउँदै आएकी छन् । चितवन जिल्ला अदालतका श्रेष्तेदार सहितको टोलीले असोज २ गते वीर अस्पतालमै पुगेर गङ्गामायासँग बकपत्र गरेका थिए ।
विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएका थिए । त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी उजुरी दिएका थिए । तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले २०६१ जेठ २४ गते कृष्णप्रसादको अपहरण गरी हत्या गरेका थिए ।