नेपालगञ्जदेखि रारा विमानस्थलसम्म हवाइ सेवा दिँदै आएका निजी हवाइजहाजहरूले चैत १५ गतेदेखि केही दिनका लागि भन्दै उडानहरू रोकेर काठमाडौँबाट अन्यत्र सेवा गर्न थालेपछि अन्य सेवाग्राहीका साथै बिरामी मर्कामा परेका छन् ।
नेपालगञ्जबाट रारा विमानस्थलसम्म नियमित रुपमा उडान भर्दै आइरहेका तारा, सिता र समिट एयरलाइन्सहरूले चैत १५ गतेदेखि रारा बिमानस्थल सम्मका सबै उडान स्थगित गरी काठमाडौँबाट अन्यत्र उडान भर्न थालेपछि यहाँका नागरिकले मर्कामा परेको गुनासो गरेका हुन् ।
अहिले नेपाल वायु सेवा निगमले हप्तामा चार उडान भर्दै आएको भएपनि अहिले उडान रोक्दा यात्रु र बिरामी मर्कामा परेका रारा बिमानस्थलका होटल व्यवसायी नरबहादुर रावलले बताउनु भयो ।
नेपाल वायुसेवा निगमको जहाजले हप्तामा चार पटक उडान भर्दै आइरहेको छ । त्यसमा पनि जटिल खालका बिरामीलगायत विद्यार्थी, आपङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेको निगमले जनाएको छ ।
नेपाल वायुसेवाले आइतबार, मङ्गलबार, शुक्रबार र शनिबार मात्र उडान भर्दै आइरहेको रारा विमानस्थल ताल्चाका कार्यालय प्रमुख सन्तोष कुमार गौतमले बताउनु भयो ।
अति आवश्यक भएका कर्मचारी तथा बिरामीका लागि हरेक उडानमा दुई सिट सुरक्षित गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनु भयो ।
बिरामीलाई तत्कालै सुविधा सम्पन्न अस्पातलमा पुर्याएर उपचार गर्न नसके ज्यानै जानसक्ने हुँदा बिरामी मर्कामा पर्ने गरेका जिल्ला अस्पातल मुगुका डाक्टर अर्जुन भामले बताउनु भयो ।