सन्धिखर्क नगरपालिका–७ न्यूखोलाकी ३१ वर्षीया सिता बिकको हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले चैत २२ गते मृतकका पति ३१ वर्षीय बिष्णुबहादुर बिकलाई जन्म कैद गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश बासुदेब न्यौपानेको इजलासले कसुर ठहर गर्दै जन्म कैद र पीडित राहत कोषमा २ सय रूपियाँ भराउने फैसला गरेको जिल्ला अदालतका नासु रामप्रसाद आचार्यले बताउनु भयो ।
सितालाई आरोपितले ०७८ असोज १२ गते साँझको समयमा घरयासी विवाद हुँदा चिरपट प्रहारबाट हत्या गरेको थियो ।
मृतकका माइती पक्षले आरोपित विरूद्ध असोज १३ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतले असोज १४ गते र आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
शव पोष्टमार्टम असोज १३ गते जिल्ला अस्पताल अर्घाखाँचीमा गरिएको थियो ।