देवदह नगरपालिका–३ खैरेनी सेमराहना स्थायी घरभई बुटवल उप–मनपा–११ देवीनगर बस्ने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १३ वर्षदेखि कार्यरत सफाईकर्मी ३५ वर्षीय रुद्रबहादुर नेपालीले चैत २१ गते आत्महत्याको प्रयास गरेको प्रहरीले दाबी गरेकाे छ ।
बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तारहरु चोरी गरेको आरोपमा प्रहरीले आरोपितलाई तामाको तार चोरेको आरोपमा चैत १९ गते बुटवलबाट गिरफ्तार गरी वडा प्रहरी कार्यालय रामनगर, बुटवलको हिरासतमा राखिएको थियो ।
आरोपितको घाँटीमा गहिरो चोट लागेकाले चैत २१ गते नै उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसीयुमा राखेर उपचार गरिएकोमा अवस्था गम्भीर भएकाले चैत २२ गतेदेखि भेण्टिलेटरमा राखेर उपचार भभइहेको छ । लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकका अनुसार आरोपितको श्वाँस नली आधा काटिएको छ ।
आरोपितकी दिदी बुटवल उप–मनपा–९ इँटाभट्टी घरभई नेपालीसँगै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत मानकुमारी सार्कीले प्रहरी हिरासतमा रहेको अवस्थमा भाईको घाँटी रेटिनु, प्रहरीले गिरफ्तार गरेर परिवार र आफन्तलाई जानकारी नदिनु, धारिलो हतियार लैजान नपाइने प्रहरी हिरासतमा कसरी यस्तो घटना घट्यो भन्दै घटना शङ्कास्पद भएको बताउनु भयो ।
वडा प्रहरी कार्यालय, बुटवलकाका इन्सपेक्टर सुदर्शन पन्थीले आरोपित शौचालय जान्छु भनी शौचालय गएको र आउँदा चिउडोमा रगत देखी सोध्दा चिप्लेर लडेको भनेको लुगा तानेर हेर्दा काटेको चोट देखेपछि तुरुन्तै अस्पताल पुर्याएको बताउनु भयो ।
घटनाको प्रकृति हेर्दा शौचालयको प्यान सिटको टुक्राले काटेर आत्महत्याको प्रयास गरेको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीका अनुसार तामाको तार चोरी गरेको आरोपममा हिरासतमा रहेका नेपालीले शौचालयको प्यान सिटको टुक्राले घाँटी रेटेर आत्महत्याको प्रयास गर्न खोजेको बताउनु भयो ।