बेलका नगरपालिका–३ की १५ वर्षीया बालिका कविता सुनुवारको चैत २२ गते शङ्कास्पद अवस्थामा शव फेला परेपछि प्रहरीले हत्याको आशङ्का गरेको छ ।
बेलका नगरपालिका–३ रामपुरस्थित कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिकाको शव चैत २२ गते बेलका नगरपालिका–३ स्थित यसोदा खोलामा शङ्कास्पद अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर तेजबहादुर दाहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
एसइइ परीक्षा लक्षित गरी विद्यालयले बिहानी सत्रमा ट्युसन क्लास सञ्चालन गरेको र विद्यालय आउने क्रममा बालिकाको हत्या भएको हुन सक्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
प्रहरीले घटनास्थलमा मुचुल्का उठाइ रहेकाले मृतकको शरीरमा कहाँ कति चोट लागेको छ भन्ने विषयमा प्रष्ट जानकारी नभएको इन्स्पेक्टर दाहालले बताउनु भयो ।
बेलका नगरपालिका–३ का स्थानीयले भने बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न र सुरक्षाको ग्यारेण्टी गर्न माग गर्दै घटना भएको क्षेत्रमा विरोध गरिरहेका छन् ।
बालिकाको शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेको भएपनि तत्कालीन प्रमाणका आधारमा हत्या भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
सबैको जीउ धनको सुरक्षा गर्न माग गर्दै विद्यालय प्रशासनले चैत २२ गते विज्ञप्ति जारी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण शाहद्धारा हस्ताक्षरित विज्ञप्तिमा दोषीलाई कारबाही गर्न र भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन माग गरिएको छ ।
मुचुल्का उठाए पश्चात जिल्ला अस्पतालमा शवको पोष्टमार्टम गरिने इन्स्पेक्टर तेजबहादुर दाहालको भनाइ छ ।
