६१ वर्षीया वृद्धालाई बलात्कार र ज्यान मार्ने प्रयास गरेको कसुरमा म्यागङ गाउँपालिका–३ का ४४ वर्षीय विष्णु सुनारलाई जिल्ला अदालतले गर्दै १३ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले चैत २० गते उक्त फैसला गरेको हो ।
फैसलामा २ लाख ४० हजार रुपैयाँ जरिवाना समेत भराउन फैसला भएको जिल्ला अदालतका इजलास अधिकृत रिता लामिछानेले जानकारी दिनुभयो ।
कसुरदार सुनारले पीडितलाई ०७८ जेठ १५ गते धारिलो हतियार प्रहार गरी घाइते बनाएर बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १७ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । जिल्ला अदालतको ०७८ असार १० गतेको आदेशमा सुनार पुर्पक्षका लागि थुनामा गएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण तथा उपचार त्रिशूली अस्पतालमा जेठ १६ गते र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा भएको थियो ।