INSEC Online

📅 २०८३ जेष्ठ २१

डाक्टरको शव फेला, हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का

सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थायी घर भई विराटनगर महानगरपालिका–५ स्थित नोवेल अस्पतालमा कार्यरत २८ वर्षीय डाक्टर विजय यादवको हत्या भएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

विराटनगर महानगरपालिका–५ स्थित प्रेम बस्नेतको घरमा डेरा गरी बस्दै आएका यादवको लास सोही घरको कम्पाउड वालभित्र मुखबाट रगत आएको र हातगोडामा चोट लागेको अवस्थामा चैत १९ गते फेला परेपछि हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।

अस्पतालका प्रबन्धक नारायण दाहालले डाक्टर यादव नोबेल अस्पतालको हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत मेडिकल अफिसर रहेको बताउनु भयो । डाक्टर यादव चार वर्षयता नोवेल अस्पतालमा कार्यरत रहेको अस्पतालका प्रबन्धक दाहालको भनाइ छ ।

डाक्टरको शङ्कास्पद तथा रहस्मय अवस्थामा लास फेला परेकाले प्रहरीले हत्याको आशङ्का गरेको र घटनाका विषयमा अनुसन्धान थालेको डिएसपी श्रेष्ठले बताउनु भयो । लास नजिक लाइटर र दुई ओटा जुत्ता फेला परेको प्रहरीले जनाएको छ ।

लास भेटिएको स्थानदेखि करिब एक सय मिटर पश्चिम नहर छेउ, नोबल हस्पिटलको गेटलगायतका विभिन्न स्थानहरूमा पनि रगत देखिएकाले घटना रहस्यमय रहेको प्रहरीको भनाइ छ ।

मृतकका आफन्तहरूले नियोजित रूपमा हत्या भएको भन्दै घटनाको निष्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न माग गर्दै चैत १९ गते नोवेल अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।

मृतकका मामा उपेन्द्र यादवले भान्जाको नियोजित तरिकाले हत्या गरेर डेरा नजिक ल्याएर फालेको हुनसक्ने बताउनु भयो ।

चैत १८ गते राति डाक्टर विजय यादव दुई जना साथीहरूसँग अवेर रातिसम्म विराटनगरको एयरपोर्ट रोडमा रहेको एक होटलमा बसेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम चैत १९ गते कोशी अस्पतालमा गरिएको छ ।

रिपोर्टपछि हत्या वा होइन भन्ने यकिन हुने र सोही अनुसार अनुसन्धान अघि बढ्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठको भनाइ छ ।

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा अनुसन्धानका लागि चैत १९ गते आठ जनालाई गिरफ्तार गरेको छ । उनीहरूको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले चिकित्सकलाई मानव अधिकार रक्षकको रूपमा परिभाषित गरेको छ ।

अन्य

भिडियो