INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानीको अभाव भएपछि कालिमाटीका स्थानीय खोलाको दुषित पानी पिउन बाध्य

कालिमाटी गाउँपालिका–७ र्‍याङका स्थानीय वर्षौँदेखि खोलाको दुषित पानी पिउन बाध्य छन् । खानेपानीको अन्य स्रोत नभएपछि र्‍याङका करिब ७५ घरधुरी खोलाको दुषित पानी पिउन बाध्य भएका हुन् ।

स्थानीय सरकार गठन भएको पाँच वर्ष पुग्नै लाग्दा समेत अहिलेसम्म पनि शुद्ध पानीको व्यवस्था नभएको र खानेपानीको अभाव भएको स्थानीय तिली पुनले गुनासो गर्नु भयो ।

स्थानीय तथा केन्द्र सरकारले अहिलेसम्म पनि खानेपानीको समस्या समाधानमा चासो नदिँदा आफूहरू मारमा परेको उहाँको भनाइ छ ।

अहिले स्थानीय खोलाको पानीको भरमा रहेको र वर्षातको समयमा धमिलो पानी पिउनु पर्ने बाध्यता भएको उहाँले बताउनु भयो ।

पिउन समेत खोलाको पानी प्रयोग भइरहेकाले साना बालबालिका तथा ज्येष्ठ नागरिकहरू बिरामी पर्न थालेको उहाँको भनाइ छ ।

खाना बनाउने, खाने तथा सरसफाई गर्ने र पशु चौपायालाई पनि त्यही पानी खुवाउने गरेको स्थानीय पवित्रा पुनले बताउनु भयो ।

खोलाको फोहोर पानी प्रयोग गर्दै आएका कारण गाउँमा धेरैलाई स्वास्थ्यमा समस्या आउने गरेको उहाँले बताउनु भयो ।

‘आजभोलि त खोलामा सफा पानी आउँछ तर वर्षातको समयमा धमिलो पानी पनि पिउनु पर्ने बाध्यता छ । यस्तो पानीले स्वास्थ्यमा त असर गर्ने नै भयो तर के गर्ने अन्य विकल्प पनि त छैन ।’–उहाँले भन्नु भयो ।

यस क्षेत्रमा खानेपानीको अभावबारे जानकारी भएको बताउँदै कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष नैनसिंह रानाले यसको व्यवस्थापनतर्फ निरन्तर लागिपरेको बताउनु भयो ।

वडामा थोरै बजेट आउने भएकाले सानो बजेटबाट काम गर्न नसकेको उहाँको भनाइ छ । खानेपानीका लागि पूर्वाधार विकास कार्यालय र विभिन्न सङ्घसंस्थासँग अनुरोध गरिएको उहाँले बताउनु भयो ।

जिल्लामा अझैपनि करिब ४० प्रतिशत नागरिक खानेपानीको पहुँच भन्दा बाहिर रहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानले जनाएको छ ।

हालसम्म ६० प्रतिशत उपभोक्ताले शुद्ध खानेपानी प्रयोग गरिरहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानका प्रमुख पदमराज पन्तले जानकारी दिनु भयो ।

जिल्लाका अधिकांश क्षेत्र सुख्खा हुनुका साथै पानीका मुहान पनि पर्याप्त नहुँदा समस्या हुने गरेको कार्यालय प्रमुख देवकोटाले जानकारी दिनु भयो ।

अन्य

भिडियो