निर्वाचन आयोगको ०७८ चैत १६ गते बसेको बैठकले स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयन पत्रका साथ १९ बुँदे स्वघोषणा गर्नुपर्ने निर्णय गरेको छ ।
आफूले गरेको स्वघोषणा प्रति उम्मेदवार स्वयम् जिम्मेवार हुनुपर्ने बताउँदै आयोगले नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानुनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानुन बमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको हो ।
यसैगरी, आयोगले जारी गरेको निर्देशिकामा निर्वाचन अधिकृतसम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा कर्मचारीसम्बन्धी व्यवस्था, निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरूको काम, कर्तव्य र अधिकार, उम्मेदवारको योग्यता तथा मनोनयन, मतदाता नामावली, मतदान र मतगणना सम्बन्धी व्यवस्था लगायत निर्वाचनको प्रभावकारी व्यवस्थापनको निम्ति आवश्यक विषयहरू समावेश गरिएका छन् ।