मानव अधिकार उल्लङ्घनकर्तालाई निर्वाचनमा उम्मेदवार नबनाउन राजनीतिक दलहरूलाई राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले पत्रचार गरेको छ ।
अगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लङ्घनकर्तालाई उम्मेदवार नबनाउन राजनीतिक दलहरूलाई आयोगले पत्रचार गरेको हो ।
मानव अधिकार उल्लङ्घनकर्तालाई निर्वाचनमा उम्मेदवार नबनाउन कर्णाली प्रदेशका सबै जिल्लाका सक्रिय राजनीतिक दलहरूलाई पत्रचार गरिएको राष्ट्रिय मानव अधिकार आयोग जुम्ला शाखाका प्रमुख बृद्धनारायण साहनीले बताउनु भयो ।
मानव अधिकार उल्लङ्घनकर्ता भनी आयोगले किटान गरी नाम सार्वजनिक गरेका व्यक्तिहरूलाई निर्वाचनमा उम्मेदवार नबनाउन पत्रचार गरी आग्रह गरिएको उहाँले बताउनु भयो ।
निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा उम्मेदवारी तय गर्न, निर्वाचन प्रचारप्रसारको क्रममा आयोजना गरिने कार्यक्रममा बालबालिकालाई सहभागी नगराउन पनि पत्रमार्फत राजनीतिक दललाई सुझाएको आयोगको पत्रमा उल्लेख गरिएको छ ।
निर्वाचन अवधिमा हुने विभिन्न कार्यक्रममा घृणा, द्वेष फैलने जस्ता अमर्यादित किसिमका शव्दहरू कोही पनि उम्मेदवार तथा नेतृत्वबाट व्यक्त नगर्न र निर्वाचन आयोगबाट जारी आचारसंहिताका विशेषतः मानव अधिकारसँग सम्बन्धित विषयहरूलाई प्राथमिकताका साथ पालना गर्न पनि अनुरोध गरिएको छ ।
आयोगले कर्णाली प्रदेशका सबै राजनीतिक दलहरू, निर्वाचनमा खटिने कर्मचारी, अनुगमन तथा पर्यवक्षणकर्ता र मतदातासमेतको सहयोगमा घोषित निर्वाचन मानव अधिकारमैत्री वातावरणमा सम्पन्न हुने अपेक्षा गरेको छ ।