INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्व पीडित परिवारले राहत नपाएको गुनासो

नौकुण्ड गाउँपालिका–५ निवासी द्वन्द्व पीडित परिवार पवित्रा मोक्तानले राहत नपाएको गुनासो गर्नुभयो ।

दशवर्षे सशस्त्र द्वन्द्वको क्रममा उहाँले पति गुमाउनुभयो । तत्कालिन विद्रोही पक्ष माओवादीले उहाँका पतिको हत्या गरेका थिए ।

Photo3RASUWA20220329

नेपाली कांग्रेस कार्यकर्ता ५७ वर्षीय कमानसिं मोक्तानलाई निर्वाचनको समयमा कांग्रेसको प्रचारमा हिँडेको र गाउँमा भोट किन्न रकम बाँडेको आरोपमा २०५९ माघ ९ गते माओवादी कार्यकर्ताले आफ्नै घरमा सुतिरहेको अवस्थामा बार्दलीबाट आँगनमा खसालेर कुटपिट गरी धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।

१० वर्षे सशस्त्र द्वन्द्व पीडितको नाममा रकम छुट्टयाएको खबरपछि नौकुण्ड गाउँपालिकामा निवेदन दिन गएको तर राहत नपाएको उहाँले इन्सेका प्रतिनिधिसँग ०७८ चैत १५ गते गुनासो गर्नुभयो ।

द्वन्द्व पीडितका लागि स्थानीय सरकारले कुनै राहत तथा जिविकोपार्जन कार्यक्रम गर्न सकेन उहाँले भन्नुभयो ।

द्वन्द्व पीडितको अधिकार रक्षाका निमित्त आवाज उठाइदिन उहाँको अनुरोध थियो ।

त्यसैगरी ०५८ भदौ ९ गते प्रहरीले माओवादीलाई सघाएको आरोपमा गिरफ्तार गरी एक महिनासम्म प्रहरीले थुनामा राखेको उत्तरगया गाउँपालिका-५ का सूर्यलाल डंगोल र विभिन्न समयमा माओवादीलाई सघाएको आरोपमा तत्कालीन नेपाली सेनाले तारिख लगाई दुःख दिएको धैबुङ्ग गाविस–५ का अर्का द्वन्द्व पीडित ८१ वर्षीय अमरबहादुर ढकालले पनि स्थानीय तह तथा तत्कालीन शान्ति समितिबाट प्रदान हुने राहत नपाएको गुनासो गर्नुभयो ।

अन्य

भिडियो