जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ४१ वर्षीय देवराज बस्नेतले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चैत ९ गते बोटलले आक्रमण गरी घाइते बनाएको आरोप लगाउनु भएको छ ।
नेपाली कांग्रेसका कार्यकर्ता बस्नेतले विकास निर्माणको कुरा लिएर नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ४१ वर्षीय मिलन राई र ३१ वर्षीय पासुहाङ्ग राईले बोटल प्रहार गरी घाइते बनाएको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
विकास निर्माणको कुरा र राजनीतिक विषयलाई लिएर बस्नेतमाथि कुटपिट भएको जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष शङ्कर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
बोटल प्रहारबाट टाउकोमा चोट लागेका पीडितको चिसापानी स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचार न्यूरो अस्पताल विराटनगरमा भइरहेको जन्तेढुङ्गा गाउँपालिका–५ का स्थानीय बाजेन्द्र विष्टले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बस्नेत आरोपितद्वयले बोटल प्रहार गरी घाइते बनाएको भन्दै चैत १० गते इलाका प्रहरी कार्यालय चिसापानीमा उजुरी दिएको इन्स्पेक्टर समित कुशवाले बताउनु भयो ।
घटनाका विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।