लेटाङ नगरपालिका–५ खेरूवामा २६ वर्षीया महिला प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको घटनामा इन्सेक प्रदेश १, कार्यालय विराटनगरले चैत ८ गते स्थलगत अनुगमन गरेको छ ।
इन्सेक प्रदेश कार्यालय विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारी, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १, कार्यालय प्रमुख नितु गड्तौला, नेपाल पत्रकार महासङ्घ मोरङ सचिव नेत्र पी अधिकारी, इन्सेक मोरङ प्रतिनिधिसहित पत्रकार अर्जुन आर्चाय र हरि अधिकारी सम्मिलित टोलीले घटनाको स्थलगत अनुगमन गरेको हो ।
अनुगमन टोलीले इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर रोमन अर्याल, घाइते प्रहरी, विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्र, शिक्षिका लक्ष्मी खतिवडा, विद्यार्थी सुस्मिता राई र स्थानीय कृष्ण लम्सालसँग भेट गरी घटनाको विषयमा जानकारी लिएको छ ।
कक्षा ७ मा अध्ययनरत १२ वर्षीया बालिकालाई सोही विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले ०७८ चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित विद्यार्थीले चैत ६ गते विद्यालय प्रशासनमा उजुरी दिएकी थिइन् ।
पीडित विद्यार्थीको उजुरीका आधारमा आरोपित शिक्षकसँग विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्र, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा लेटाङ नगरपालिका–५ का वडाध्यक्ष भूमसूर्य मगर, न्यायिक समिति संयोजक कृष्णकुमारी निरौलाले सोधपुछ गर्ने क्रममा आरोपित शिक्षकले घटना अस्वीकार गरेका थिए ।
आरोपित शिक्षकसँगको सोधपुछका क्रममा विद्यार्थीहरूले नाराबाजी सुरू गरेपछि आरोपित शिक्षकलाई गिरफ्तार गरी कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लेटाङलाई खबर गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रले अधिकारकर्मीसँगको भेटमा बताउनु भयो ।
विद्यालय प्रशासनको खबरपछि इलाका प्रहरी कार्यालय लेटाङबाट दुई जना प्रहरीलाई विद्यालय पठाएर आरोपित शिक्षकलाई गिरफ्तार गरी को १ च ६६२ नम्बरको एम्बुलेन्समा राखेर विद्यालय बाहिर निकाल्ने क्रममा विद्यार्थीहरूले एम्बुलेन्समाथि ढुङ्गा प्रहार गरेपछि पुन शिक्षकलाई विद्यालयको बैठक कक्षमा राखिएको इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर रोमन अर्यालले अधिकारकर्मीसँगको भेटमा बताउनु भयो ।
आरोपित शिक्षकसहित जनप्रतिनिधि, शिक्षक र कर्मचारीलाई सुरक्षाका लागि खटिएको प्रहरीमाथि विद्याथीसहित अभिभावकले ढुङ्गा प्रहार गरेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रयोग गरेको इन्स्पेक्टर रोमन अर्यालले बताउनु भयो ।
चैत ६ गते साँझ साढे पाँच बजे विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रलाई शुक्रे भनिने शुक्र राईले हेल्मेटले प्रहार गरेपछि आन्दोलन भड्किएको थियो ।
१ न. प्रदेश प्रहरी कार्यालय विराटनगरले पठाएको दङ्गा नियन्त्रण प्रहरीको गाडी साँझ सात बजे विद्यालय परिसरमा पुग्नासाथ आन्दोलनकारीले प्रहरीमाथि पेट्रोल बमसहित ढुङ्गा प्रहार गरेको इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार सन्तबहादुर मगरले अधिकारकर्मीसँगको भेटमा बताउनु भयो ।
दङ्गा नियन्त्रणका लागि पुगेको प्रहरीले विद्यालय परिसरमा थुनिएका आरोपित शिक्षकसहित अन्य प्रहरीलाई बाहिर निकालेपछि आन्दोलनकारीले पुन आक्रमण गरेको इन्स्पेक्टर रोमन अर्यालले बताउनु भयो ।
प्रहरीलाई लखेट्दै आएको भीडले २६ वर्षीया महिला प्रहरी उर्मिला श्रेष्ठलाई पछाडीबाट आक्रमण गरी हत्या गरेको इन्स्पेक्टर अर्यालले बताउनु भयो । सोही बेला प्रहरीले आत्मरक्षाका लागि फायरिङ्ग खोलेको इन्स्पेक्टर अर्यालको भनाइ छ ।
छानबिनका लागि ६ सदस्यीय समिति
लेटाङ नगरपालिका–५ खेरूवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको विषयलाई लिएर विद्यालय परिसरमा सोधपुछका क्रममा चैत ६ गते आन्दोलन भड्किएर एक जना महिला प्रहरीको हत्या गरिएको विषयमा छानबिनका लागि प्रदेश प्रहरी कार्यालय विराटनगरले चैत ९ गते एसएसपी राजेन्द्र गौतमको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको प्रदेश प्रहरी कार्यालयका एसपी नविनराज राईले बताउनु भएको छ ।
आरोपित शिक्षक, पटकपटक विवादित
आरोपित शिक्षक मनोज पौडेल पटकपटक विवादित रहेको सोही विद्यालयकी शिक्षिका लक्ष्मी खतिवडाले अधिकारकर्मीसँगको भेटमा बताउनु भयो । विद्यालयको अभिलेख अनुसार शिक्षक पौडेलविरूद्ध यौन दुर्व्यवहार गरेको आरोपमा ०७८ चैत ६ गते, ०७३ वैशाख २३ गते र अरु एक ओटा उजुरी परेको अभिलेखमा देखिन्छ ।
विद्यालय बन्द, शिक्षाको अधिकारबाट वञ्चित
विद्यालय तोडफोड गरेपछि विद्यालय कहिलेबाट सुचारू हुने भन्ने विषय यकिन नभएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रले अधिकारकर्मीसँगको भेटमा बताउनु भयो । चैत ६ गतेदेखि सुरू भएको कक्षा १० को सेण्ट अपको पहिलो दिनको परीक्षा दिएपछि विद्यालय बन्द भएको छ । एसइइ तयारी गरिरहेका ७१ जना विद्यार्थीको सेण्ट अप परीक्षा अनिश्चित भएको छ भने ७ सय ४१ जना विद्यार्थी शिक्षाको अधिकारबाट वञ्चित भएका छन् । नेपालको संविधानले धारा ३१ मा शिक्षा अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ ।
विद्यालयको पाँच सूत्रीय माग
चैत ६ गते आन्दोलन भड्किएपछि भएको हिंसात्मक गतिविधिले विद्यालयमा आगजनी गर्नुका साथै तोडफोड गरेको विषयमा विद्यालयले चैत ७ गते विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्र र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमसूर्य मगरद्धारा जारी विज्ञप्तिमा सात बुँदे माग गरिएको छ । विज्ञप्तिमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्न, विद्यालय परिसरमा शिक्षक विद्यार्थीमाथिको निर्मम दमन अन्त्य गर्न, नष्ट भएका भौतिक संरचनाको तुरून्त निर्माण गर्न, दोषीलाई तुरून्त कारबाही गर्न, निरपराध व्यक्तिलाई तुरून्त रिहा गर्न, घाइतेहरूको उपचारको बन्दोबस्त गर्न र नष्ट भएका सामग्रीको क्षतिपूर्ति दिन माग गरिएको छ ।

विद्यालयलाई शान्ति क्षेत्र बनाउन माग
नेपाल सरकारले ०६८ जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको छ । तर, शिक्षा विकास माध्यमिक विद्यालयमा चैत ६ गते उत्पन्न परिस्थितीपछि भय कायम भएको विद्यालयकी शिक्षिका लक्ष्मी खतिवडाले बताउनु भएको छ । स्थानीयवासी कृष्ण लम्सालले विद्यालय शान्ति बनाउन र तत्काल विद्यालय सञ्चालनका लागि माग गर्नु भएको छ ।
सवारीसाधनसहित विद्यालयमा तोडफोड
चैत ६ गते आन्दोलित पक्षले विद्यालय परिसरमा राखिएका सवारी साधनसहित विद्यालयमा तोडफोड गरेको छ । तोडफोडका कारण ५० लाख रुपियाँ बराबरको क्षति भएको विद्यालय प्रशासनले जनाएको छ । आन्दोलित पक्षले आरोपित शिक्षकको मोटरसाइकलसहित शिक्षिकाले प्रयोग गर्दै आएको को २३ प ९९७ नम्वरको स्कुटरमा आगजनी गरेको छ । प्रदेश १ ०२०४२ प ५५३२, प्रदेश १ ०२०४१ प ९६१६ र प्रदेश १ ०२०४४ प ३१०० नम्बरको मोटरसाइकल तोडफोड गरेको छ । विद्यालयको स्टाफ बैठक कक्षमा तोडफोड हुँदा लाखौँ रुपियाँको क्षति भएको विद्यालय प्रशासनले जनाएको छ ।















कर्फ्यु खुकुलो- जिल्ला प्रशासन कार्यालय
एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले चैत ७ गते बिहान ७ बजेदेखि लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम लगाएको कर्फ्यु आदेश चैत ९ गतेदेखि केही खुकुलो गरी जारी राखेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले चैत ८ गते विज्ञप्ति जारी गरी चैत ९ गते विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने प्रशासनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घटनापछि छुट्टाछुट्टै विज्ञप्ति
शिक्षा विकास माविमा भएको आन्दोलन हिंसात्मक भएपछि राजनीतिक दलले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको विरोध र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले, नगर कमिटी लेटाङले चैत ७ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनामा घुसपैठ भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । नगर कमिटी अध्यक्ष कृष्णप्रसाद लुइटेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा घुसपैठ भएकाले निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।


नेपाली कांग्रेस नगर कार्यसमिति लेटाङले चैत ८ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ । सभापति दीपकचन्द्र राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा विद्यालय तत्काल सुचारू गर्न माग गरिएको छ ।

मोरङ क्षेत्र न.१ मा सङ्घीय सांसद घनश्याम खतिवडाले चैत ८ गते विज्ञप्ति जारी गर्दै घटनामा घुसपैठ भएको भन्ने सूचना आएकाले निश्पक्ष छानबिन गर्न र घटनाका दोषीलाई कारबाही गर्न माग गर्नु भएको छ ।
