जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरूले तीन वर्षदेखि प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् ।
नियमअनुसार ६ घण्टा सेवा दिनुपर्ने भए पनि कर्मचारी अभावका कारण चौबीसै घण्टा खटिए पनि प्रोत्साहन भत्ता भने नपाएको अस्पतालका इण्डोर इञ्चार्ज सुलोचना महर्जनले बताउनु भयो ।
‘दरबन्दी पूर्ति नहुँदा सधैं ओभरटाइम काम गर्न बाध्य छौँ ।–उहाँले भन्नु भयो–‘अरू साथीहरू विदामा भए चौबीसै घण्टा ड्युटीमा खटिनुपर्छ । तर, सरकारले हाम्रो परिश्रम देखेन ।’
प्रदेश सरकारले स्वास्थ्यकर्मीलाई ३ हजार रुपियाँका दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेपनि सल्यानमा लागू नभएको उहाँको भनाइ छ ।
विदा बचत, ओभरटाइम, चाडपर्वलगायतको भत्ता पनि लामो समयदेखि नपाएको उहाँले गुनासो गर्नु भयो ।
करारमा भर्ना गरिएका स्वास्थ्यकर्मीले भने पोशाक भत्ता समेत नपाएको उहाँले बताउनु भयो ।
स्वास्थ्यकर्मी कोपिला रानाले तीन वर्षमा एक महिनामात्रै प्रोत्साहन भत्ता पाएको बताउनु भयो । ‘जोखिम मोलेरै काम गर्नुपर्छ ।’–हाँले भन्नुभयो–‘कहिलेकहीँ त भोकभोकै नसुतेर पनि काम गर्छौँ तर हाम्रो दुःख कसैले बुझेनन् ।’
कोभिड महामारीका बेला जोखिम मोलेर काम गर्दा सङ्क्रमित भए पनि अहिलेसम्म बीमाबापतको रकम पनि अझै पाउन नसकेको उहाँको गुनासो छ ।
विगतमा अस्पताल घाटामा हुँदा स्वास्थ्यकर्मीलाई भत्ता दिन नसकेको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष चन्द्रप्रकाश वलीले बताउनु भयो ।
‘अहिले हुने आम्दानीले तलब खुवाउन मात्र ठिक्क हुन्छ । सामग्री किन्न पनि प्रदेश सरकारको बजेटको भर पर्नुपरेको छ ।’–उहाँले भन्नु भयो–‘स्वास्थ्यकर्मीको प्रोत्साहन भत्ताका लागि प्रदेश सरकारसँग अनुरोध गरेका छौँ ।’
उहाँले चालु आर्थिक वर्षको आम्दानीको ४० प्रतिशत रकम प्रोत्साहन भत्तामा खर्च गरिने जानकारी दिनु भयो ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठले प्रदेश सरकारले पर्याप्त बजेट नपठाउँदा विभिन्न अभियानहरू प्रभावित भएको गुनासो गर्नु भयो ।