INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

गैडाकोट नगरपालिका–१ घर भइ हाल बेनी अस्पतालमा कार्यरत अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट ३७ वर्षीय डाक्टर जितेन्द्र कँडेललाई दुर्व्यवहार गरेको भन्दै पीडितले पर्वत जलजला गाउँपालिका–३ का २२ वर्षीय बिज्ञान शर्माविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय म्याग्दीमा फागुन ३० गते उजुरी दिएका छन् ।

 बेनी अस्पताल व्यवस्थापन समितिका सदस्य रहेका आरोपितले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई कार्यस्थलमै गई असभ्य व्यवहार गर्ने र धम्की दिनुका साथै गालीगलौच गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय म्याग्दी र जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको उजुरीमा उल्लेख रहेको  जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी इन्सपेक्टर वीरेन्द्रराज गुरुङले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयलाई भनिएको बताउनुभयो ।

उपचारका क्रममा मृत्यु भएकी एक महिलाको घटनालाई बहाना बनाउँदै आरोपितले जलजला गाउँपालिकाका स्थानीय सहितको टोली ल्याएर ०७८ फागुन २७ गते बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीकै अगाडि पीडितलाई कुटपिट गर्ने धम्की दिएको बेनी अस्पतालका स्वास्थ्यकर्मीको भनाई छ ।

आरोपितले दिएको धम्कीका कारण स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुले असुरक्षित महशुस गर्दै अस्पतालमा काम गर्ने वातावरण नरहेको भन्दै सुरक्षाको प्रत्याभुतिका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय म्याग्दीमा निवेदन दिएको पीडितले बताउनुभयो ।

स्वास्थ्यकर्मीहरुलाई कुटपिटको धम्की दिँदा पनि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लगायतले विवाद समाधान तर्फ ध्यान नदिएको संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु बताउँछन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले मन्त्रालयले नियुक्ती गरेको हुनाले सदस्य शर्मालाई आफूले केही गर्न नसक्ने बताउनुभयो ।

अस्पतालमा आएर स्वास्थ्यकर्मीहरुमाथि दुव्र्यवहार गरेको हो तर पनि अस्पताल व्यवस्थापन समिति गठन आदेश–२०७५ अनुरुप मन्त्रालयले नियुक्ती गरेको हुँदा मन्त्रालयले नै आवश्यक प्रक्रिया गर्न सक्ने अध्यक्ष सुवेदीको भनाइ छ ।

गण्डकी प्रदेशद्वारा प्रदेश राजपत्रमा सामाजिक विकास मन्त्रालयको सूचनाका रुपमा २०७५ असोज ११ गते प्रकाशित अस्पताल व्यवस्थापन समिति गठन आदेश–२०७५ को दफा (३) मा समिति गठनको व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा (१) को (क) देखि (ङ) सम्म अस्पताल व्यवस्थापन समितिमा सम्बन्धीत जिल्ला तथा सम्बन्धीत स्थानीय तहका व्यक्तिहरुलाई समितिको अध्यक्ष तथा सदस्य तोक्ने व्यवस्था भएपनि पर्वतको जलजला गाउँपालिकाका शर्मालाई आफ्नै अस्पताल व्यवस्थापन समिति गठन आदेश बिपरीत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियुक्ती गरेको थियो ।

अन्य

भिडियो