INSEC Online

📅 २०८३ जेष्ठ २१

त्रिपुरासुन्दरी नगर क्षेत्रका ज्येष्ठ नागरिकले पाएनन् सामाजिक सुरक्षा भत्ता

त्रिपुरासुन्दरी नगरपालिकाका ज्येष्ठ नागरिकले आठ महिना बित्दासमेत सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।

प्रत्येक महिनाको अन्त्यमा पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता यो वर्षको अन्त्य सम्म पनि नपाएका हुन ।

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ज्येष्ठ नागरिक देविकृष्ण उपाध्यायले एक वर्ष बित्न लागिसक्दा समेत सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो–‘गत वर्षमा महिना मर्दा समेत घरघरमा सामाजिक सुरक्षा भत्ता ल्याएर बुझाउने गर्दथे । तर, अहिले त बैङ्कमा खाता खोलेपछि अझै भत्ता पाएका छैनौँ ।’

नेपाल सरकारले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई मासिक ३ हजार रुपियाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएपनि कर्णालीमा भने ६५ वर्ष पुगेका पुरुष र ६० वर्ष पुगेका महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–१० लिकुका ज्येष्ठ नागरिक ज्योतीप्रसाद पहाडीले पनि भत्ता नपाएको गुनासो गर्नु भयो ।

खातामा जम्मा भयो की भनेर नगरकेन्द्र त्रिपुराकोट बगरस्थित माछापुच्छ्रे बैङ्कमा तीन पटक धाइसके पनि खातामा रकम जम्मा नभएको उहाँले गुनासो गर्नु भयो ।

नगरका सहायक लेखापाल रुपचन्द्र बुढाले नगरमा आर्थिक अनियमितताका झण्डै एक दर्जन उजुरी अख्तियारमा परेकाले अख्तियारको निर्देशनमा सबै श्रेस्ता सुर्खेत पठाइएको र छानविन कार्य भइरहेकाले केहि ढिलाइ भएको बताउनु भयो ।

त्रिपुरासुन्दरी नगरपालिकाका कार्यकारी प्रमुख प्रितिभक्त गिरीले सबै किसिमको सामाजिक सुरक्षा भत्ता बैङ्कमा पठाउन केही आन्तरिक कारणले ढिलाइ भएपनि नागरिकको खातामा पठाउने काम सुरू गरिएको बताउनु भयो ।

उहाँले भन्नु भयो–‘सबै वडाका नागरिकको प्रत्येक खातामा जम्मा गर्नु पर्ने र झिक्दा समेत बैङ्कमा भिडभाड हुने भएकाले क्रमशः पालैपालो खातामा जम्मा गरी खबर गर्ने गरिएकोले पनि ढिला भएको हो ।’

माछापुच्छ्रे बैङ्कका विकास न्यौपानेले सबै वडाका नागरिकलाई एकैसाथ बोलाउँदा भिडभाड हुने भएकाले ११ ओटै वडाको टोकन प्रणालीबाट वितरण गर्ने गरिएको बताउनु भयो ।

अन्य

भिडियो