जिल्ला अस्पताल, डडेल्धुरामा विशेषज्ञ डाक्टर नहुँदा उपचारका लागि आउने सेवाग्राहीहरुले सेवा नलिइकनै जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको छ ।
१८ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पतालमा पुरै दरबन्दी रिक्त रहेको छ । १९ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा १२ जना र ३० जना स्टाफ नर्सको दरबन्दी रहेकोमा दुई जना मात्रै कार्यरत रहेका छन् ।
जिल्ला अस्पतालमा दरबन्दी अनुसारका डाक्तर र स्वास्थ्यकर्मीहरु नहुँदा सेवाग्राहीहरुले सास्ती खेप्नु परेको हो ।
लामो समयदेखि अस्पतालमा स्वास्थ्यकर्मी नभएका कारण सेवाग्राहीहरुले सास्तै खेप्दै आएका भएपनि अस्पताल व्यवस्थापन समितिले कुनै चासो नदिएको स्थानीय भरत कैनीको आरोप छ ।
उहाँले भन्नु भयो– ‘स्वास्थ्यकर्मी अभाव हुँदा उपचारका लागि आउने बिरामीहरुले सास्ती भोग्नु परेको छ । उपचारका लागि अस्पताल आउने बिरामीको अत्याधिक चाँप हुने गरेको भएपनि डाक्टर अभावका कारण बिहानैदेखि बेलुकीसम्म बिरामीहरु लाइनमा बस्नु पर्ने बाध्यता छ ।’
नेपालको संविधानले प्रत्येक नागरीकलाई आधारभूत स्वास्थ्य सेवा पाउनु सवैको हक हुनेछ भनेर उल्लेख गरेको भएपनि डडेल्धुरा अस्पतालमा स्वास्थ्यकर्मीहरुको अभाव भएपछि उपचार गर्न आएका बिरामीहरु सेवा नलिइकनै फर्किन बाध्य भएको अधिवक्ता बिष्णु भट्टले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘विगत आठ महिनादेखि अस्पतालमा दरबन्दी अनुसारका डाक्टर छैनन् । सरोकारवाला निकायहरुले ध्यान नदिदा दिर्घ तथा जटिल रोग भएका बिरामीहरुले समस्या भोग्नु परेको छ ।’
अस्पतालमा अहिले दैनिक २ सयदेखि २ सय ५० जना जतिको हाराहारीमा बिरामीहरु आउने गरेको भएपनि डाक्टर अभावका कारण उहाँहरुको चेकजाँच गर्न समेत समस्या हुने गरेको जिल्ला अस्पताल,डडेल्धुराका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चेतराज भट्टले बताउनु भयो ।
अस्पतालमा दरबन्दी अनुसारका डाक्टरहरुको पदपुर्तिका लागि संघीय सरकारलाई पत्र पठाएको र अबको केही महिना मै डाक्टरहरु पठाउने तयारी भइरहेको आश्वासन आएको मेडिकल सुपरीटेण्डेन्ट डाक्टर भट्टको भनाइ छ ।
नेपालको संविधानको भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३५ को उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनेर उल्लेख गरिएको छ ।